काठमाडौं । ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारीसाधन मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले तत्कालै हेल्मेट लगाउनु पर्छ भनेको होइन पछाडि बस्ने व्यक्तिको सुरक्षालाई ध्यान दिएर सरोकारवाला निकायसँग छलफल गरेर मात्रै हेल्मेट लगाउने निर्णय गर्ने भनिएको बताए ।
महाशाखा प्रमुख पन्तका अनुसार यातायात व्यवस्था नियमावलीमा संशोधन भयो भने मात्रै सो नियम लागु गरिनेछ । अहिले संशोधनका लागि पठाइएको छ । उक्त नियम लागू भएपछि भने साधारण हेलमेट लगाउन पाइँदैन,गुणस्तर प्रमाणित लगाउनुपर्छ।
यसको निम्ति गुणस्तर तथा नापतौल विभागले हेलमेटको मापदण्ड तयार पारेको उनले बताएका छन् । ‘बजारमा जसरी आजैबाट हेल्मेट लगाउनुपर्छ भन्ने जस्तो हल्ला भयो त्यो होइन दुई पाङ्ग्रे सवारी साधानको पछाडि बस्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो नियम शुरु गर्नुपर्छ कि भन्ने अवधारणा ल्याइएको हो तर तत्कालै लागुहुने नियम होइन’, एसएसपी पन्तले भने ।
सामाजिक सञ्जालमा यसको विरोध भएपछि महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो । ‘सुरक्षा दृष्टिले चालक र पछाडि बस्ने दुवैले हेलमेट लगाउनु राम्रो हो। अहिले नियमै नहुँदा पनि पछाडि बस्ने कसैले स्वैच्छाले लगाएर हिँड्न सक्छन्’, एसएसपी पन्तले भने ।
महाशाखाले आधिकारिक सामाजिक सञ्जाल ट्विटरमा जारी गरेको सूचनामा लेखिएको छ, ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुन सक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’