पाँचथर हत्याकाण्ड : एसएसपी र सिआइबीको टोली घटनास्थल जाँदै « Nagarik Khabar

पाँचथर हत्याकाण्ड : एसएसपी र सिआइबीको टोली घटनास्थल जाँदै



पाँचथर । पाँचथरमा दुई परिवारको ९ जनाको हत्या भएपछि त्यसको अनुसन्धान गर्न एक नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी शरद खत्री नेतृत्वको प्रहरी टोली घटनास्थल गएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालका अनुसार पाँचथर जिल्लाको सबै नाकाहरु बन्द गरेर हत्याराको खोजी कार्य भैरहेको छ ।

‘हत्या भएको जानकारी आउनसाथ संघीय प्रहरी कार्यालयका एसएसपी शरद खत्रीलाई त्यहाँ पठाइएको छ केही समयपछि म पनि पाँचथर जानेछु’, डिआइजी रिजालले भने । उनका अनुसार आवश्यकता अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीलाई पनि घटनास्थल पठाउनका लागि तयारी राख्न सिआइवीलाई आग्रह गरिएको छ । सिआइबीका एसपी उमा चतुर्वेदीको टोली तयारी अवस्थामा रहेको छ । ‘प्रदेश प्रहरीबाट आदेश आउने वित्तिकै हामी पाँचथर जानेछौ’, सिआइवीका प्रवक्ता समेत रहेका चतुर्वेदीले भने ।

पाँचथरमा ९ जनाको हत्या, भागेर बाँच्न सफल भइन् १२ वर्षीया सीता

पाँचथर प्रहरीलाई जिल्लास्थित सबै नाका बन्द गर्न लगाइएको र संभावित स्थान ताप्लेजुङ, तेह्रथुम, इलाम र झापाको प्रहरीलाई समेत खोजी कार्यका लागि सहयोग गर्न निर्देशन दिइसकेको डिआइजी रिजालले जानकारी दिए ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: