पाँचथर हत्याकाण्ड : घटनामा संलग्न भएको आंशका गरिएका व्यक्तिको शव फेला ! « Nagarik Khabar

पाँचथर हत्याकाण्ड : घटनामा संलग्न भएको आंशका गरिएका व्यक्तिको शव फेला !



काठमाडौं । पाँचथरको मिक्लाजुङ ७ आरुबोटेमा ९ जनाको हत्यामा संलग्नले आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थल नजिकै स्थानीय मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेकाले घटनामा संलग्न भएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको  स्थानीयले बताएका छन् ।  

तर प्रहरीले उनको हत्या वा आत्महत्या भन्ने पुष्टि गरेको छैन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले हत्यामा संलग्न भए/नभएको र आत्महत्या वा हत्या भन्ने विषय अनुसन्धानपछि मात्र खुल्ने जानकारी दिए । प्रहरीले यसअघि माखिमनै हत्यामा संलग्न रहेको आशंका गरेको थियो ।

सोमवार रातीको घटनामा स्थानीय बमबहादुर फियाक र उनका ज्वाई धनराज शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो । आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीय बालिका सीता खुजुमले हतियारधारी समूहले मुकुण्डो लगाएर आएर हत्या गरेको बताएकी थिईन ।

हत्यामा संलग्न रहेका एक व्यक्तिले आत्महत्या गरेको भन्ने खबर आएपछि प्रहरी घटनास्थल पुगेको छ । घटनास्थलबाट नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोमवार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको थियो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: