एबिसीमा पुनर्निर्माणले गति लियो « Nagarik Khabar

एबिसीमा पुनर्निर्माणले गति लियो



पोखरा । अन्नपूर्ण आधार शिविर (एबिसी) मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको स्थानीय समाजसेवी एवम् अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले जानकारी दिए । अकल्पनीय रूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।

हिमआँधीको समयमा उक्त स्थानमा कुनै मानिस नरहेका कारण मानवीय क्षति भने भएको थिएन । गुरुङका अनुसार क्षतिग्रस्त संरचनालाई पूर्णरुपमा निर्माण गरी पूर्ववत् अवस्थामा ल्याउन करीब १२ करोड लाग्ने अनुमान गरिएको छ ।

क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन सकेको थिएन । यस क्षेत्रमा पदयात्रा पर्यटनको दोस्रो याम मार्चदेखि मे महीनाको समयमा अन्नपूर्ण आधार शिविरमा भएको क्षतिले पर्यटक समस्यामा परे पनि अर्को याम शुरु हुँदासम्म सम्पूर्ण पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: