भोजपुरमा प्रहरी र विप्लव समूहबीच मुठभेट, एक जना पक्राउ « Nagarik Khabar

भोजपुरमा प्रहरी र विप्लव समूहबीच मुठभेट, एक जना पक्राउ



भोजपुर । ट्याम्केमैयुम गाँउपालिका–१ मा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

धोद्रे जंगलमा प्रहरी र विप्लवका कार्यकर्ताबीच मुठभेट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको प्रहरीको गस्ती टोली र विप्लवका कार्यकर्ताबीच मुठभेट भएको हो ।

मुठभेटमा प्रहरीले नेकपाका कार्यकर्तालाई पेस्तोलसहित पक्राउ गरेको छ । करिब १५ जनाको संख्यामा रहेका नेकपाका कार्यकर्ता हतियारधारीसहित रहेको प्रहरीले बताएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार हतियारधारी समूहलाई रोक्न खोज्दा एकजनाले गोली चलाउन खोजेका थिए।

प्रहरीले जवाफी फायरिङ गर्ने क्रममा भोजपुरको षडानन्द नगरपालिका–२ का ३२ वर्षीय तीर्थराज घिमिरेलाई पक्राउ गरेको हो । प्रहरीले घिमिरेको बाया खुट्टामा गोली लागेको छ । उनको साथबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्‍ने गोली ५ थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड करिब २० मिटर र बारुद बरामद गरेको छ । यस्तै, नेकपाद्वारा जारी गरिएको विज्ञप्ती, पर्चा, पम्प्लेटसमेत बरामद भएको छ।

उनलाई उपचारार्थ सदरमुकामतर्फ ल्याइँदैछ। भागेका अन्य हतियारधारीलाई खोजी तीब्र पारिएको प्रदेश कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: