विप्लव समूहमाथिको प्रतिवन्ध चाँडै नै फुकुवा हुन्छ : उर्जामन्त्री पुन « Nagarik Khabar

विप्लव समूहमाथिको प्रतिवन्ध चाँडै नै फुकुवा हुन्छ : उर्जामन्त्री पुन



  • केजिन राई

ब्रसेल्स, बेल्जियम । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि सरकारले लगाइएको प्रतिबन्ध चाँडै फुकुवा हुने बताएका छन् । नेकपाको वैदेशिक संगठनले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकता एक वर्ष पुगेको अवसरमा बुधबार बेल्जियमको लुभेनमा आयोजना गरेको कार्यक्रममा मन्त्री अनन्तले विप्लव नेतृत्वको समूहमाथिको प्रतिबन्ध फुकुवा हुने बताएका हुन् ।

नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री अनन्तले विप्लव समूहले आफ्ना कुरा वार्तामा आएर राख्नु पर्ने बताउँदै छिट्टै वार्तामा आउने विश्वास व्यक्त गरे । ‘अहिले सरकार संयम छ । आजै, भोली र पर्सी नै विप्लव समूहको उदण्ड गतिविधिलाई सीमित गर्न सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुन्छ । तर, वार्तामा आएर आफ्ना कुरा त राख्न पर्यो नि ।’

उनले विप्लव हिजो सँगै लडेको साथी भएको बताउँदै वार्ताबाट नभाग्न आग्रह गरे । ‘हामी जो कोही अर्को दुनियाँबाट आएका मान्छे त हैनौ नि । एकै परिबेशबाट आएका हौँ । राजा, सेनासँगसँगै प्रतिवाद गर्दै हिंडेका हामी वार्तासँग किन भाग्ने ?’, उनले भने, ‘वार्तामा आउनुहोस् छलफल गरौँ । सरकार तपाईंहरूसँग दूरी बढाउने नियतमा छैन । मूलप्रवाहमा आउनुस् । अन्ततः प्रगतिशील विचार बोक्ने एकाकार हुनैपर्छ ।’

मन्त्री अनन्तले सहयात्रीहरुलाई दलाल, प्रतिक्रियावादी भनेर विप्लवलाई कुनै फाइदा नहुने बताए । ‘एनेसेलको राजश्व उठेन भनेर बम नै पडकाउनु पर्दैन । सहयात्रीहरूलाई दलाल, शासक–प्रतिकृयावादी केही भनि रहन पर्दैन’, उनले भने । 

यसै महिनाको १४, १५ र १६ तारिख फ्रान्सको पेरिसमा भएको सातौ मन्त्रीस्तरीय विश्व जलविद्युत सम्मेलनमा भाग लिन आएका मन्त्री अनन्तले जननेता मदन भण्डारी र तत्कालीन नेकपा (एमाले) संगठन विभाग प्रमुख जिवराज आश्रितको राजनीतिक योगदानको आदर र स्मरण गरे ।

अर्को प्रसंगमा मन्त्री अनन्तले विदेशमा ३३ भेराईटी खाना खादा नि दाल, भात र जन्ते बाख्रोको झोलको तिर्सना आईरहने प्रसङ्ग कोट्याउँदै राष्ट्रियता–स्वाधीनताको सवालमा प्रदेशमा बसेर चिन्ता लिएका नेपालीहरु पाउँदा सुखद अनुभूति हुने समेत बताए ।

उनले कसैले लेखेका अतिरन्जित कुराहरू सामाजिक संजालमा भाईरल हुने गरेको तर वर्षदिन मै राष्ट्रिय अर्थतन्त्रमा भएको चमत्कारको प्रचार नभएको बताए । ‘अघिल्लो वर्ष ३० खर्ब रहेको कुल गार्हस्थ उत्पादन सात प्रतिशतले बृद्धि भएको छ । यो वर्ष ३४ खर्ब ६४ अर्ब पुगेको छ । यो चमत्कारिक उच्च आर्थिक वृद्धिलाई हेर्नुस्’ उनले भने ।

कार्यक्रममा पूर्वसभामुख एवम् सांसद ओनसरी घर्तीमगरले मुलुकमा भर्खरै संघीयता आएको र गति लिएपछि सबै नेपालीको घर आँगनमा उज्यालो आउने र मुहार फेरिने बताईन् ।

अन्तरक्रियामा बेनेलक्स र यूरोपियन यूनियनका लागि राजदूत लोकबहादुर थापा, राप्रपा बेल्जियमका अध्यक्ष दिपेन्द्र केसी, जनप्रगतिशील मोर्चा अध्यक्ष मेख गुरुङ, समाजवादी पार्टीका अध्यक्ष नेत्र मगर, नेपाली कांग्रेस यूरोप महामन्त्री गंगाधर गौतमले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जनप्रगतिशील मञ्च अध्यक्ष जित लामा र कार्यक्रमको सभापतित्व प्रवासी मंचका अध्यक्ष बोधराज पौडेलले गरेका थिए ।

मन्त्री अनन्त र पूर्व सभामुख घर्तिमगरलाई सोही साँझ बेल्जियमको लुभेन शहरमा विश्व मगर संघले अभिनन्दन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: