काठमाडौं । सगरमाथाको उचाइ नाप्न गएको नापी विभागको टोली सगरमाथाको शिखरमा पुगेको छ । विभागको टोली बुधबार बिहान ३ः१५ बजे मा सगरमाथा शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन । टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको जानकारी दिदै आचार्यले अहिले टोली शिखरबाट फर्किरहेको पनि बताइन ।
नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको थियो। सगरमाथाको उचाइ मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए। प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्न त्यसतर्फ गएका थिए।
जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसूत्रको काम गरिरहेका छन् भने गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेका छन्। नापका लागि पाँचजना गाइडहरू खटाइएको छ। पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका छन्।