मिडिया काउन्सिल विधेयक परिमार्जन गर्छौं: उपनेता नेम्बाङ « Nagarik Khabar

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्छौं: उपनेता नेम्बाङ



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्तावित नेपाल मिडिया काउन्सिल ऐन, २०७५ परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण पत्र बुझाएपछि पूर्व सभामुख समेत रहेका नेम्वाङले विधेयकलाई संविधान अनुकूल बनाउने प्रतिबद्धता जनाएका हुन् ।

महासङ्घको टोलीले प्रस्तावित नेपाल मिडिया काउन्सिल ऐन, २०७५ संविधानको प्रतिकुल रहेको र लोकतन्त्रको विश्व व्यापी मान्यता विपरीत रहेकाले त्यसलाई सच्चाउने दबाब मूलक आन्दोलन थालेको छ । त्यसै क्रममा नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई भेटेर महासङ्घले ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै नेम्वाङ्गले आफूहरूले प्रस्तावित विधेयकलाई परिमार्जन गरेर संविधान अनुकूल बनाउने बताए । उनले महासङ्घको टोलीलाई विधेयक परिमार्जनका लागि आवश्यक बुँदा उपलब्ध गराउन आग्रह गरे ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक मूल्य मान्यता, सङ्घीयता, समावेशिता लगायत संविधानको प्रतिकुल हुने गरी आएका कारणले महासङ्घले आन्दोलन गरेको प्रस्ट पारे । प्रस्तावित विधेयकले संसारमै नभएको पत्रकारका लागि दण्ड सजायको व्यवस्था गरेकाले आफूहरू दबाब मूलक आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

प्रेस स्वतन्त्रताको पक्षमा गरिएको आन्दोलनलाई राजनीतिक रूप दिन खोजिएको भन्दै महासङ्घका अध्यक्ष आचार्यले कुनै पनि राजनीतिक दल वा सरकारको विरोधमा नभएर प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताको विरोधमा विधेयक आएकाले आफूहरू आन्दोलनमा उत्रिएको प्रस्ट पारे । 

महासङ्घले विधेयक परिमार्जन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: