प्रहरीसँगको मुठभेडमा घाइते विप्लवका कार्यकर्ताको घिमिरेको मृत्यु « Nagarik Khabar

प्रहरीसँगको मुठभेडमा घाइते विप्लवका कार्यकर्ताको घिमिरेको मृत्यु



काठमाडौं । प्रहरीसँगको मुठभेडमा घाइते भएका सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलबार भोजपुरमा भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहानपछि घाइते भएका घिमिरेलाई उपचारका लागि धरान ल्याउँदा गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।

मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले गोली हान्दा उनी घाइते भएका थिए । घिमिरे सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउने विप्लवका पहिलो कार्यकर्ता बनेका छन् ।

भोजपुरको कुदाकाउले भन्ने स्थानबाट उनलाई घाईते अवस्थामा पक्राउ गरी उपचारका लागि धरान ल्याएको प्रहरीले जनाएको थियो । प्रहरी र विप्लव कार्यकर्ताबीच भएको भिडन्त र भिडन्तमा एक कार्यकर्ताको मृत्युपछि सरकारसँग दूरी बढ्ने र वार्ताको सम्भावना कम हुने आँकलन गरिएको छ ।

विप्लव समूह विरुद्ध प्रहरी सर्च

प्रदेश १ को प्रहरी कार्यालयले पूर्वी पहाडका सबै जिल्लाहरुमा विप्लव कार्यकर्ताविरुद्ध ‘सर्च अभियान’ सञ्चालन गरेको छ । त्यसै अभियान अन्तर्गत सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोली र विप्लव कार्यकर्तालेबीच गोली हानहान भएको प्रहरीको दावी छ । प्रहरीले उनीहरुसँग भिडन्त भएको दावी गरेको छ । भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद भएको दावी गरेको छ ।

टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले बताए ।

प्रहरीका अनुसार विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुम, दोभानेमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको प्रहरीमा सूचना थियो । सोहि सुचनाको आधारमा साल्पा सिलोछोको दोभाने क्षेत्रमा समेत प्रहरीले गस्ति बढाएको थियो । विप्लव कार्यकर्ताको गतिविधि बढेपछि प्रदेश प्रहरीबाट समेत १५ जनाको प्रहरी थप मद्धतका लागि भोजपुर पुगेको थियो। भोजपुरबाट थप ३० जना सहित ४५ जनाको प्रहरी टोलीले विप्लव कार्यकर्ता खोजी गरिरहेको थियो ।

दूरी झन् बढ्यो

सरकारले दोहोरो रणनीति अवलम्बल गरेर आफूहरुमाथि षड्यन्त्र गर्न खोजेका भन्दै विप्लव समूहका नेताहरुले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । सरकारले प्रतिनीधिसभा सदस्य सोम प्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली बनाएर वार्ता प्रयास गरेको थियो । तर सो समूह वार्तामा नआएपछि अहिले वार्ता टोली विघटन भैसकेको छ ।

वार्ता टोली विघटन लगत्तै सरकारले प्रहरीले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगायो । सरकारले २८ फागुनमा सो समूहका गतिविधिलाई प्रतिबन्ध लगाएपछि चैतभित्र हतियार बुझाउन र वार्तामा आउन आग्रह गरेको थियो । तर दुवैपक्षबीच वार्ता हुन सकेन ।

अहिले भूमिगत रुपमै विप्लव समूहले आफ्ना गतिविधि अगाडि बढाएको छ । सरकारले उसका गतिविधिलाई निस्तेज बनाउदै आएको छ । प्रहरीले देशभरबाट बैशाख र जेठमा मात्रै २ सयभन्दा बढी नेता कार्यकर्ताहरु पक्राउ गरिसकेको छ । भोजपुर गोली काण्डपछि सरकार र विप्लवबीचको दुरी झन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: