रेडक्रसमा डा. विश्वकेशर मास्के नेतृत्वको तदर्थ समिति गठन « Nagarik Khabar

रेडक्रसमा डा. विश्वकेशर मास्के नेतृत्वको तदर्थ समिति गठन



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल रेडक्रस सोसाइटीमा नयाँ तदर्थ समिति गठन गरेको छ । सञ्जीव थापा नेतृत्वको कार्यसमितिलाई भङ्ग गरेर अधिवेशन गराउने जिम्मेवारीसहित नयाँ तदर्थ समिति गठन गरेको हो । जिल्ला प्रशासनले पत्र पठाएर नयाँ तदर्थ समिति गठन गरेको जानकारी नेपाल रेडक्रसलाई दिएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा सङ्घका पूर्व अध्यक्ष एवं पूर्व महामन्त्री समेत रहेका डा. विश्वकेशर मास्केलाई चयन गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । नयाँ कार्यसमितिलाई ८ बुँदे कार्यादेश दिइएको छ । कार्यादेश अनुसार नयाँ कार्य समितिले एक वर्षभित्र रेडक्रसको महाधिवेशन गरिसक्नु पर्नेछ ।

थापा नेतृत्वको समितिले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि वैशाख २३ देखि २५ सम्म तय भएको महाधिवेशन प्रशासनले रोकेको थियो । थापा नेतृत्वको कार्यसमितिले जेठ १ गते वैधानिकता गुमाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले गरेको पत्राचार अनुसार तदर्थ समितिको उपाध्यक्षमा बर्दियाका कृष्ण गौतम, महामन्त्रीमा झापाका कमल प्रसाद निरौला, कोषाध्यक्षमा धादिङका सीताराम कोइराला चयन भएका छन् ।

सदस्यमा महेश्वरी राई, गोवर्धनसिंह सम्झना, अशोक श्रेष्ठ, लोकराज ढकाल, वीरबहादुर बस्नेत, दीपेन्द्र ढकाल, खेमराज केसी, श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे र जीवन राना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: