मिडिया काउन्सिल विधेयक संसदमा अघि बढाउन नदिने कांग्रेसको चेतावनी (भिडियोसहित)_ « Nagarik Khabar

मिडिया काउन्सिल विधेयक संसदमा अघि बढाउन नदिने कांग्रेसको चेतावनी (भिडियोसहित)_



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संविधानको मूल्य र मान्यताविपरीत आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यताविपरीत प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन् ।

बुधबार संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा उनले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए कांग्रेसले अघि बढाउन नदिने चेतावनी दिइन् । सचेतक भुसालले सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको तर्क गरिन् ।

‘मुलुकको लोकतन्त्रले नचिन्ने, हामीले नबुझ्ने सो विधेयक तत्काल फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौं,’ उनले भनिन्, ‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढाउन नसक्ने जानकारी गराउँछु ।’

सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने प्रष्ट पारिन् । सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको सचेतक भुसालको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: