‘ओभरी’ क्यान्सरसँग लड्दै कासियासकी श्रीमती « Nagarik Khabar

‘ओभरी’ क्यान्सरसँग लड्दै कासियासकी श्रीमती



म्याड्रिड । श्रीमानलाई हृदयघात भएको तीन सातापछि स्पेनी फुटवलर इकार कासियासकी श्रीमतीले आफू पनि ओभरी क्यान्सरको समस्यासँग लडिरहेको सार्वजनिक गरेकी छिन् । कासियासकी श्रीमती सारा कार्बाेनेरोले अन्तर्राष्ट्रिय फुटबल समूदायलाई थप आश्चर्य र चिन्तामा पार्दै नयाँ खुलासा गरेकी हुन् ।

‘हामी पहिलो आश्चर्यबाट अझै बाहिर निस्कन सकिरहेका छैनौं । जिन्दगीले हामीलाई अर्काे आश्चर्य दिएको छ’, कासियासकी श्रीमती साराले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यस पटक त्यो आश्चर्य मसँग भएको छ । केही दिन अघि नियमित परिक्षणको क्रममा डक्टरले मलाई ओभरी क्यान्सर भएको जानकारी दिए । जसको उपचार सुरु गरेकी छु ।’

स्पेनले सन् २०१० को विश्वकप उपाधि जित्दा पहिलो रोजाइका गोलरक्षक कासियासलाई तीन साता अघि अभ्यासकै क्रममा हृदयघात भएको थियो । पोर्चुगिज क्लब पोर्ताेसँग आवद्व रहेका उनी त्यस यता परिवारसँगै आराम गरिरहेका छन् । पतिमाथी भएको सो घटनाको तीन सातापछि साराले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा गरेकी हुन् । साराको खुलासासँगै अन्तर्राष्ट्रिय फुटबल जगतले उनीहरूमाथि सहानुभूति व्यक्त गरेका छन् ।

साराले आफू र आफ्नो परिवार यो दुःखसँग लड्न तयार रहेको जनाएकी छिन् । ‘मसँग यो समस्यासँग जुध्न अझै केही समय छ । मलाई विश्वास छ कि सवै सही हुने छ’, उनले भनेकी छिन्, ‘बाटो साच्चिकै अप्ठेरो छ । तर, यसको अन्त्य सुखद् नै हुने छ । मलाई मेरो परिवार, साथी र राम्रो मेडिकल टोलीको साथ छ ।’

टेलिभिजनमा खेलकुद पत्रकारको रुपमा कार्यरत रहेकी साराले आफ्ना साथीभाईसँग आफूले पहिलेकै जस्तो साथ र सहयोगको अपेक्षा गरेको पनि जनाएकी छिन् । ‘म यो समय मेरा पत्रकार साथीहरूलाई पहिलेकै जस्तो साथ र सम्मान व्यक्त गर्न पनि अनुरोध गर्न चाहन्छु’, उनले भगाडि लेखेकी छिन्, ‘विशेष गरी म र मेरो परिवारको यो मुस्किल समयमा तपाईहरूको पहिलेको जस्तै साथ चाहन्छु ।’

३५ वर्षिया साराले सोमबार मात्रै आफ्नो पती कासियासको ३८औं जन्मदिन मनाएकी थिइन् । त्यसको केही घण्टा पछि नै उनले आफ्नो आफू क्यान्सरबाट बच्न संघर्ष गरिरहेको समाचार सार्वजनिक गरेकी हुन् । उनीहरूका दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: