प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता « Nagarik Khabar

प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सग(Baroness Sugg)बीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए ।
प्रचण्डले भने, ‘ आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’ उनले नेपालको शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट पारे ।
देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै प्रचण्डले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।
बेलायतकी मन्त्री सगले नेपालमा महिलाको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताईन । उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताईन् ।
उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको प्रचण्डलाई जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: