अमेरिकी दूतावासको ‘जनतासँग गफगाफ’ कार्यक्रम प्रति मुख्य दलको असन्तुष्टि (भिडियोसहित) « Nagarik Khabar

अमेरिकी दूतावासको ‘जनतासँग गफगाफ’ कार्यक्रम प्रति मुख्य दलको असन्तुष्टि (भिडियोसहित)



काठमाडौँ । अमेरिकी दूतावासले सुरु गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम प्रति मुख्य राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत ¥याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपाका वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराए । बुधवार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठुला देशले पनि गर्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरूले त झन् त्यसको पालना गर्नुपर्ने उल्लेख गरे ।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादा विपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रूपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरिलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अनुमति नरहेको दाबी पनि गरे ।


प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रूपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सचेत गराए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरिलाई सो संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको स्पष्ट पारे । उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्न पनि नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको ध्यानाकर्षण गराए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमवारदेखि सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो ।

सांसद कर्णले कुनै पनि बहानामा कूटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरूले गर्न नहुने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: