अर्थमन्त्री खतिवडा र बेलायती मन्त्रीबीच भेटवार्ता « Nagarik Khabar

अर्थमन्त्री खतिवडा र बेलायती मन्त्रीबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिबारे छलफल भएको हो । भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

बेलायती सरकार दातृ निकायहरुमध्ये सबैभन्दा ठूलो दातृ निकाय भएका उल्लेख गर्दै मन्त्री खतिवडाले आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउने तर्फ सरकार सजग रहेको स्पष्ट पारे । यस्तै, उनले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे ।

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्तिसम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराइन् । उनले नेपाल संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै बेलायती सरकारले सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरिन् । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको उनले आश्वसन दिइन् ।

बेलायती मन्त्रीले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरिन् । यस्तै, नेपालबाट समावेशिताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा संघीयता कार्यान्वयनको चरणनलाई खुलेरै प्रशंसा गरिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: