मिडिया काउन्सिल विधेयक सच्याउन वामदेवको सुझाव « Nagarik Khabar

मिडिया काउन्सिल विधेयक सच्याउन वामदेवको सुझाव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको मिडिया काउन्सिल विधयेकका कतिपय विवादास्पद प्राब्धानप्रति आफ्नो असमति रहेको जनाउदै सच्याएर मात्र पारित गर्न सुझाव दिएका हुन ।

‘नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु ’, उनले आज विहान विज्ञप्ति जारी गर्दै सो धारणा सार्वजनिक गरेका हुन ।

उनले समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन भन्दै सच्याउन सुझाव दिएका छन् । ‘समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु ,’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् ‘स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन ।

बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन् । त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो । प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ ।’ नेता गौतमले हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: