सिक्किममा चाम्लिङ राजनीति: २५ वर्षको शासन समाप्तीको नजिक ! « Nagarik Khabar

सिक्किममा चाम्लिङ राजनीति: २५ वर्षको शासन समाप्तीको नजिक !



काठमाडौं । भारतको सिक्किममा पवन चाम्लिङको २५ वर्षको शासन समाप्तीको नजिक पुगेको छ । लोकसभा चुनावसंगै विभिन्न चार राज्यमा विधानसभाको चुनाव समेत भएको थियो । आज बिहानैदेखि सिक्किम लगायतका विभिन्न चार राज्यको विधानसभा चुनावको मतगणना जारी छ । सिक्किममा ३२ सिटका लागि भएको चुनावमा पवन चाम्लिङको सत्तारुढ दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)लाई पीएस गोलेको दल सिक्किम क्रान्तिकारी मोर्चाले निक्कै पछी पारेको छ । जारी मतगणनामा गोलेले २५ वर्षदेखिको चाम्लिङ राजलाई विस्थापित गर्ने देखिएको छ ।

भारतमा सर्वाधिक पटक मुख्यमन्त्री बन्ने कीर्तिमान बनाएका चाम्लिङको दलले सन् २०१४ मा भएको चुनावमा २२ सिटमा जित निकालेको थियो । गोलेको दलले बाँकी १० सिटमा विजयी हासिल गरेको थियो । तर यस पटक पूर्व सहकर्मी गोलेले चाम्लिङलाई पराजित गर्ने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । गोलेले लिम्वु र तामाङ समुदायलाई आरक्षण दिन नसकेको आरोप लगाएर चुनावी मैदानमा उत्रिएका थिए । तर गोले भ्रष्टाचारको अभियोगमा जेल परेकाले चुनाव लड्न पाएनन् ।

सिक्किम सन् १९७५ मा भारतमा विलय भएको थियो । चुनावी मैदानमा मुख्य दुई दल बाहेक भारतीय जनता पार्टी, अखिल भारतीय काँग्रेस, भाइचुङ भुटिया नेतृत्वको हाम्रो सिक्किम पार्टी लगायत अन्य स्वतन्त्र पार्टी समेत चुनावी मैदानमा छन् । लोकसभा चुनावमा सिक्किमबाट एक सिट मात्र छ । विधानसभामा ३२ सिटका लागि १ सय ५० र लोकसभामा १ सिटका लागि ११ जना उम्मेद्वार चुनावी मैदानमा छन् । लोकसभामा इन्द्रहाङ सुब्बा र डीबी कटुवालबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

सिक्किममा चाम्लिङले सन् १९९४ देखि निरन्तर सत्तामा छन् । उनले नरबहादुर भण्डारी नेतृत्वको सिक्किम संग्राम परिषद्लाई पराजित गरेपछि निरन्तर जित हासिल गरेका थिए । सिक्किममा मात्र होइन भारतमै कुनै एउटा राज्यमा लामो समयसम्म शासनगर्ने रेकर्डनै बनाए । उनले पूर्वसहकर्मी भण्डारीलाई बिस्थापन गरेका थिए भने अहिले फेरि चाम्लिङका पूर्वसहकर्मी गोलेले चाम्लिङलाई पराजित गर्ने प्रारम्भिक नतिजाले देखाएको छ ।

सिक्किममा ६ लाख जनसंख्या रहेको छ । लोकसभा वा विधानसभा दुवै चुनावमा अहिलेसम्म कुनैपनि राष्टिय दलले जित्न सकेका छैनन् । सिक्किम भारतमै सबैभन्दा कम जनसंख्या भएको राज्य समेत हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: