काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बिहिवार काठमाडौंमा आयोजना गरेको ्कार्यक्रममा बोल्दै उनले संविधान र संघीय कानुन विपरितका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न पनि प्रदेश र स्थानीय सरकारलाई सचेत गराए । मन्त्री ढकालले सरकारले संविधान बमोजिमनै विधेयक निर्माणको काम गरिरहेको दावी गरे ।
मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाव लिन पनि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए ।