काठमाडौं । देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अवस्थाबारे छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठन गरेको छ । उच्चस्तरीय भूमि आयोग गठनको प्रस्ताव मन्त्रिरिषद्बाट पारित भएसँगै आयोग गठन गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको प्रस्तावलाई स्वीकृत गर्दै सरकारले सरकारी सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न ६ महिना कार्य्विधि रहने गरी मोहनरमण भट्टराईको अध्यक्षतामा चार सदस्यीय छानबिन आयोग गठन गरेको हो । आयोगका सदस्यमा जानकी बल्लभ अधिकारी, दुर्गा दाहाल र जगतबहादुर देउजा छन् । त्यस्तै, सदस्य सचिवमा मन्त्रालयका सहसचिव शंकरबहादुर थापा छन् ।
यसका साथै देशभर अलपत्र अवस्थामा रहेका र अतिक्रमणमा परेका जग्गा पहिचान गर्ने, अतिक्रमणमा संलग्न रहेकाबारे छानबिन गरी कारबाही सिफारिस गर्ने, अतिक्रमित जग्गा पहिचान गरी फिर्ताका लागि सिफारिस गर्ने, जग्गाको प्रमाण, रेकर्ड तथा अभिलेख संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक सुझाव दिने, जग्गा अपचलनमा संलग्नताको आशंका लागेकालाई बयान लिने/पत्र काट्ने र उपस्थित गराउनेसम्मको अधिकार आयोगलाई रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।