यार्सा खोज्न एक महिनादेखि विद्यालय बन्द « Nagarik Khabar

यार्सा खोज्न एक महिनादेखि विद्यालय बन्द



नेपालगन्ज । अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय एक महिना बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए ।

विद्यालय बन्द हुनुमा शिक्षकले विद्यार्थी र विद्यार्थीले शिक्षकलाई दोष लगाउँदै आएका छन् । ‘शिक्षकहरू यार्सा टिप्न पाटन जानुहुन्छ,’ बझाङका अनिल रोकायले भने, ‘अनि पढाइ नहुने भएपछि हामी पनि पाटन जान्छौं ।’ असारे बिदामा यो बिदा मिलान गर्ने गरेको शिक्षकहरू बताउँछन् । तर यार्सा टिप्न पाटन नजाने विद्यार्थीले भने पढाइबाट वञ्चित हुनुपरेको छ ।कक्षा ५ देखिका विद्यार्थी यार्सा टिप्न जान्छन् ।

यार्सा यहाँका बासिन्दाको मुख्य आयस्रोत हो । सिजनमा यार्सा संकलकले दुईदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् । सो आम्दानीले वर्षभरि टार्ने गरेको साइपाल–१ धलौनका जनक बोहोराले बताए । ‘यो समयमा सबै परिवार पाटन जान्छौं,’ उनले भने, ‘उता नगए घरपरिवार पाल्न समस्या हुन्छ ।’ अहिले साइपालका पाँच, सुर्माका १४, दुर्गाथलीका पाँच, छब्बिसपाथिभराका तीन, बुंगल नगरका नौ र जयपृथ्वीका दुईवटा विद्यालय बन्द छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: