मन्त्रीको बेवास्तापछि प्रधानमन्त्रीसँग मेनपावर व्यवसायीको हारगुहार « Nagarik Khabar

मन्त्रीको बेवास्तापछि प्रधानमन्त्रीसँग मेनपावर व्यवसायीको हारगुहार



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरु माग पूरा गरिदिन प्रधानमन्त्रीसमक्ष पुगेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री कार्यालयमा बुझाएको निवेदनमा श्रममन्त्री विष्टले आफ्ना माग पूरै वेवास्ता गरेकाले श्रममन्त्रीलाई निर्देशन दिन माग गरेको छ ।

वैदेशिक रोजगारलाई मर्यादित, स्वस्थ, सुरक्षित र व्यवस्थित गराउनका लागि आफूहरुले निरन्तर पहल गरेको तर मन्त्रीले बेवास्ता गरेको भन्दै व्यवसायी संघले आफ्ना माग पूरा गराउनका लागि प्रधानमन्त्री गुहारेका हुन् ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउनुको सट्टा थप अन्यौलग्रस्त, भद्रगोल र असुरक्षित बनाउन थालेको व्यवसायीको आरोप छ । ‘वास्तविक व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आएकाले यस व्यवसायमा रहेको समस्या र व्यवसायीले राखेका मागहरु पूरा गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनु हुने अपेक्षाको साथ सम्माननीयज्यू समक्ष यो निवेदनपत्र पेश गरेका छौं’ निवेदनमा भनिएको छ ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघका अध्यक्ष रोहन गुरुङले भेटेर व्यवसायीका समस्याबारे अवगत गराएका थिए । व्यवसायीका मागबारे आफूले सक्दो सहयोग गर्ने बचन प्रधानमन्त्रीबाट पाएपछि यो निवेदन दर्ता भएको स्रोतको भनाइ छ ।

संघले व्यवसाय गर्ने इजाजत लिन राख्ने धरौटी रकमको व्याज पाउने व्यवस्था गर्नुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त छुट, सुविधा र सहुलियत दिनुपर्ने, मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

पढ्नुहोस प्रधानमन्त्री ओलीलाई बुझाएको निवेदन–

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: