गीतकार ढकालको एकल साँझ काठमाडौंमा « Nagarik Khabar

गीतकार ढकालको एकल साँझ काठमाडौंमा



पोखरा । लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रम–२०७६ का मूल आयोजक समितिका संयोजक मनकुमार श्रेष्ठले बताए । यसअघि पोखरा र लेखनाथमा आफ्नो एकल साँझ सम्पन्न गरेका ढकालको यो कार्यक्रम चौथो हो ।

श्रेष्ठका अनुसार यो कार्यक्रम सांस्कृतिक संस्थान र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा हुनेछ । ढकालको एकल साँझमा लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, गायिका दुर्गा परियार, कृष्णा परियारले समेत गाउनेछन ।गण्डकी क्षेत्रको लोकभाकालाई आफ्नो आवाज, लय र शब्दका माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने ढकालका १०० भन्दा बढी गीत रेकर्ड भएका छन् । ढकालका लोकगीत, जागरण गीत र राष्ट्रिय गीतका एक दर्जन एल्बम यसअघि नै सार्वजनिक भइसकेका छन् ।

चेतनामूलक गीत गाउन मन पराउने ढकालले देशभक्तिका राष्ट्रिय गीतका साथमा कौरा, सोरठी, झ्याउरे, धिमाल, देउसी, सिङ्गारुजस्ता गीत गाउँदै नेपाली लोक संस्कृति संरक्षण अभियानमा समेत सक्रिय छन् ।कार्यक्रमलाई सफल पार्न रु सात लाख ४५ हजार अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ । अनुमानित आम्दानी रु १२ लाख ५० हजार गरी अनुमानित बचत रु पाँच लाख ५०० गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: