काठमाडौँ । शैक्षिक व्यापारीको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको विषयमा सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले असहमति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रधानमन्त्रीको नाम नलिईकन शैक्षिक व्यापारीले आयोजना गरेको कार्यक्रममा गएकोमा असहमति व्यक्त गरेका हुन् । तामाङ दुई विद्यार्थी एकतापछि अनेरास्ववियूको सहसंयोजक को जिम्मेवारीमा छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत शैक्षिक व्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति जानु शोभनीय नभएको बताए । उनले निजी शैक्षिक संस्थालाई वैधानिकता नभएर नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन् ‘निजी क्षेत्रलाई वैधानिकता होइन, सरकारले नियमन र नियन्त्रण गर्नुपर्छ । संविधान प्रदत्त शैक्षिक अधिकारको कार्यान्वयन गर्दै सार्वजनिक शिक्षाको स्तर उन्नति र गुणस्तर, अभिवृद्धिका निम्ति शिक्षामा पर्याप्त बजेट विनियोजन गरिनुपर्छ । शैक्षिक व्यापारीहरूको कुनै पनि कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति सहभागी हुने कुरा बिलकुल शोभनिय विषय होइन ।’
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । प्रधानमन्त्रीले निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएपछि अनेरास्ववियूका नेता तामाङले आफ्नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रति असहमति जनाएका हुन् ।