युरोपियन च्याम्पियन्स लिग : अयाक्स फाइनल नजिक « Nagarik Khabar

युरोपियन च्याम्पियन्स लिग : अयाक्स फाइनल नजिक



लण्डन । अर्काे एक सनसनीपूर्ण नतिजा निकाल्दै डच टोली अयाक्स युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ । मंगलबार भएको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस टोली टोट्टनहाम हर्टस्परलाई उसकै मैदानमा १–० गोलले पराजित गर्दै अयाक्सले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।

अव अर्काे साता आफ्नै मैदानमा हुने दोस्रो लेगको खेलमा यो अग्रतालाई कायम राख्न सकेको अवस्थामा अयाक्स २३ वर्षपछि पुनः युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने छ । सन् १९७१ देखी ७३ सम्म लगातार तीन वर्ष जितेर उपाधिमाथि ह्याट्रिक गरेको अयाक्स सन् १९९६ मा उपविजेता भएपछि भने फेरि फाइनलसम्म पुग्न सकेको छैन ।

यो सिजन सुरुवातबाटै सशक्त प्रदर्शन गरेको अयाक्सले पुरानो शाख फर्काउने सङ्केत गरेको छ । प्रिक्वार्टरफाइनल चरणमा साविकको विजेता रियल म्याड्रिडलाई पराजित गरेको अयाक्सले क्वार्टरफाइनल चरणमा क्रिष्टियानो रोनाल्डोको युभेन्टसलाई पराजित गर्दै अघि बढेको थियो । सेमिफाइनलमा टोट्टनहामविरुद्व पहिलो लेगको खेलमा अग्रता बनाउँन सफल भएको छ ।

अयाक्सले टोट्टनहामविरुद्व खेलको १५औं मिनेटमै अग्रता बनाएको थियो । डोनी भान डी बिकले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए । टोट्टनहामको पेनाल्टी क्षेत्रमा अफ साइड ट्रयापलाई असफल बनाउँदै बिकले हाकिम जिऐजले दिएको थ्रुबललाई गोलमा परिणत गरेका थिए । टोट्टनहामका गोलरक्षक ह्युगो ल्होरिस एक्लै रहेको अवस्थामा बिकले गोल गरेका थिए ।

चोटग्रस्त आफ्ना स्ट्राइकर हेरी केन र निलम्बनमा रहेका मिडफिल्डर सोन हियूङ मिनबिना नै मैदानमा उत्रिएको टोट्टनहामलाई खेलको पूरा अवधि अयाक्सले दबाबमा राखेको थियो । खेलको पहिलो हाफमै रक्षक जान भर्टाेङघेनले पनि चोटका कारण मैदान छाड्दा घरेलु टोलीले बबाद खेपेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: