जापानमा नयाँ युगको आरम्भ « Nagarik Khabar

जापानमा नयाँ युगको आरम्भ



एजेन्सी । जापानी जनताले आज (बुधबार) देखि नयाँ राजा पाएका छन् । यसअघिका राजा अकिहितोले स्वच्छाले राजगद्दी त्यागेपछि उनका छोरा नारुहितो नयाँ राजा गद्दीसीन भएका हुन ।
वर्तमान राजा अकिहितोको स्वास्थ्य कमजोर भएका कारण उनले हिजोबाट गद्दी त्याग गरेका थिए । ८५ वर्षीय अकिहितो जापानको इतिहासमा दुई सय वर्षयता जीवितै रहँदा राजगद्दी त्याग गर्ने पहिलो राजा हुन । अकिहितोका ५९ वर्षीय छोरा नारुहितोले जापानको १२६औँ राजाका रूपमा आजबाट राजगद्दी सम्हालेका हुन्।
योसँगै जापानमा नयाँ युग सुरु भएको मानिएको छ । यो युगलाई रेवा नाम दिइएको छ। नारुहितो नयाँ सम्राट बनेपछि ‘रेवा’ नाम दिइएको ‘नयाँ युग’ आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।

जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ । विश्वमा धमाधम राजसंस्था अन्त्य भई गणतन्त्र स्थापना भइरहेका बेला जापानमा भने अझै राजसंस्था लोकप्रिय र सम्मानित छ। तर जापानमा राजालाई कुनै पनि राजनीतिक अधिकार छैन ।
गद्दीसीन भएपछि छोटो मन्तव्य राख्दै नारुहितोले आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरेका थिए । आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै नयाँ राजा नारुहितोले भने, ‘उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो । उहाँले आफ्नो आचारणबाटै ठूलो दयाभाव देखाउनुभयो। म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु ।’ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुन ।

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।

राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता व्यक्त गरेका थिए । विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो । जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ । जापानी समाजमा इश्वरको रुपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: