एजेन्सी । भारतको गढ़चिरौलीमा माओवादी आक्रमणमा १६ सुरक्षाकर्मी मारिएका छन् । महाराष्ट्र पुलिसलाई लक्षित गरेर माओवादीले आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे प्रहरीको गाडीलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणमा परी १० जना घाइते भएका छन् ।
माओवादीले सुरक्षाकर्मीको एक सवारी साधनलाई निशाना बनाएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्र पुलिसका सी-६० कमाण्डो सवार गाडीलाई माओवादीले गढंचिरौली कुरखेडा तालुका नजिक निशाना बनाएको थियो । सुरक्षाकर्मी माओवादीले बुधवार सबेरै ३० गाडी जलाएको स्थानमा जाँदै थिए ।
गढंचिरौली सबैभन्दा धेरै माओवादी प्रभावित जिल्ला हो । महाराष्ट्र सरकारका मन्त्री सुधीर मुंगतीवारले १५ सुरक्षाकर्मी र एक सवारी चालक गुमाएको बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दागर्दै ज्यान गुमाउनेको परिवारसंग आफू भएको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘महाराष्ट्रको गढंचिरौलीमा जवान माथि भएको घिनलाग्दो आक्रमणको निन्दा गर्छु । म सबै बहादुर जवानलाई सलाम गर्न चाहन्छु । उनीहरुको बलिदान कहिल्यै भुल्ने छैन् । मेरो समवेदना पीडित परिवारसंग छ । घटनामा दोषीलाई कारबाही गरिनेछ ।’
भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि प्रदेश सरकारसंग सम्पर्कमा रहेर सबै प्रकारको सहायताका लागि केन्द्र सरकारले पहल गरिरहेको बताएका छन् ।
माओवादी गुरिल्ला विरुद्ध लड्नका लागि महाराष्ट पुलिसले एक विशेष दल बनाएको थियो जसलाई सी-६० कमाण्डो भनिन्छ । जसमा स्थानीय जनजातिलाई सामेल गरिएको छ । ६० स्थानीय जातिलाई सामेल गरेर बनाइएकाले यस फोर्सको नाम सी-६० कमाण्डो फोर्स राखिएको हो ।
Strongly condemn the despicable attack on our security personnel in Gadchiroli, Maharashtra. I salute all the brave personnel. Their sacrifices will never be forgotten. My thoughts & solidarity are with the bereaved families. The perpetrators of such violence will not be spared.
— Chowkidar Narendra Modi (@narendramodi) May 1, 2019