कर्णाली प्रिमियर लिग : एपीएफ सेमिफाइनलमा « Nagarik Khabar

कर्णाली प्रिमियर लिग : एपीएफ सेमिफाइनलमा



सुर्खेत । विभागीय टोली एपीएफ सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार महेन्द्रनगर क्रिकेट एमेडेमीलाई १८ रनले पराजित गर्दै एपीएफ समूह बीको विजेताको रुपमा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भएको छ । समूह बिबाट बुटवलको न्यु होराइजन तथा समुह एबाट कर्णाली–११ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबारबाट सुरु हुने सेमिफाइनल चरणका खेलमा कर्णाली–११ र न्यु होराइजन तथा एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

कालिन्चोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा नौं विकेट गुमाएर एक सय ४३ रनको योगफल तय गरेको थियो । जवाफमा आएको महेन्द्रनगरले २० ओभरमा आठ विकेट गुमाएर एक २५ रन मात्रै बनाउन सकेको थियो ।

एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ रनको योगदान दिए । महेन्द्रनगरका लागि सन्तोष भट्टले ३५ बलमा ५० रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । उनले आफ्नो पालीमा तीन छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै हेमन्त कार्कीले थप ३० रन जोडेका थिए ।
महेनद्रनगरलाई लक्ष्यसम्म पुग्न नदिन कमलले बलिङतर्फ पनि तीन विकेट लिएका थिए । यस्तै भुवन कार्कीले थप २ विकेट लिएका थिए । महेन्द्रनगरका लागि पनि सन्तोषले र आकाश चन्दले ३/३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: