प्रतिस्पर्धा कांग्रेस र कम्युनिस्टको, एजेण्डा कुलमानको « Nagarik Khabar

प्रतिस्पर्धा कांग्रेस र कम्युनिस्टको, एजेण्डा कुलमानको



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा बिहिबार आधिकारिक टे«ड यूनियनको निर्वाचन हुन लागेको छ । निर्वाचनमा प्राधिकरणका सातौँ तहसम्मका देशभरका झण्डै १० हजार कर्मचारीले मतदान गर्ने छन् ।

निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको नेपाल राष्ट्रिय कर्मचारी यूनियन र नेपाली काँग्रेस निकटको नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको बीचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । दुवै समूहले आफ्नो संगठन विजयी हुने दावि गरेका छन् ।

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका कर्मचारीहरु छुट्टा छुट्टै समूह बनाएर सहभागी हुँदा काँग्रेस निकटको कर्मचारी संघले सहजै जितेको थियो । यसपटक पार्टी एकता र प्राधिकरणका क्रियाशील दुई संगठनबीच समेत एकता भईसकेकाले सहजै जित्ने यूनियनको दावि छ ।

तर, निर्वाचनमा दुवै समूहले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेको कार्यक्रमलाई नै आफ्नो घोषणा पत्रमा समावेश गरेका छन् । यसमा नेकपा निकट यूनियन भन्दा काँग्रेस निकट कर्मचारी संघ अघि देखिएको छ ।

प्राधिकरणको आधिकारिक यूनियनको अध्यक्ष प्राधिकरण सञ्चालक समितिको बैठकमा आमन्त्रित सदस्य रहने व्यवस्था भएकाले यूनियनको निर्वाचनलाई ठूलै महत्वका साथ हेरिन्छ । पछिल्लो समय प्राधिकरणको सञ्चालक समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित हुने संघका अध्यक्ष जनार्दन भट्टराईले सञ्चालक समितिमा सामान्य छलफल भएका विषय समेत सार्वजनिक गरेर विवाद उत्पन्न गराएको आरोप लागेको छ ।

भट्टराईले अहिले कार्यकारी निर्देशक घिसिङको खुलेर विरोध गर्दै आएका छन् । पाँच तहको कर्मचारीले प्राधिकरणलाई गुमराहमा राखेको भन्दै घिसिङले केहींदिन अघि आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष समेत रहेका जनार्दन भट्टराईलाई स्पष्टिकरण सोधिएको खुलासा गरेका थिए ।

उनै भट्टराई यतिखेर भने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अगाडि सारेको योजना तथा नीति र कार्यक्रमलाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।

उता नेकपा निकटको यूनियनले कार्यकारी निर्देशक घिसिङले अगाडि सारेका योजना तथा कार्यक्रमलाई आफूहरुले समावेश गर्नु स्वभाविक भएको दावि गरेको छ । यूनियनका अध्यक्ष रामेश्वर पौडेलले प्राधिकरणलाई सबल संस्था बनाउन नेतृत्वले अगाडि सारेका नीति तथा कार्यक्रम लागू गराउनु कर्मचारीको दायित्व भएको बताउँछन् ।

बिहिबार देशैभरका महसुल काउन्टर बन्द

प्राधिकरणको आधिकारिक ट्रेड यूनियनका लागि देशैभर मतदान हुने भएपछि प्राधिकरणले बिहीबार देशैभरका महसुल काउन्टर बन्द हुने जनाएको छ । प्राधिकरणले मंगलबार विज्ञप्ती जारी गरेर बिहीबार महसुल संकलन नहुने जानकारी दिएको हो ।
ईसेवा लगायतका विविध सेवाबाट भने महसुल तिर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: