घरेलु मैदानमा लिभरपुलविरुद्व बार्सिलोनाको सन्सनीपूर्ण जित « Nagarik Khabar

घरेलु मैदानमा लिभरपुलविरुद्व बार्सिलोनाको सन्सनीपूर्ण जित



म्याड्रिड । बार्सिलोनाले युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बिहिबार बिहान भएको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब लिभरपुललाई ३–० गोल अन्तरले पराजित गर्दै स्पेनी टोली बार्सिलोनाले फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको हो ।

बार्सिलोनालाई अव फाइनल प्रवेशका लागि अर्काे साता लिभरपुलमा हुने दोस्रो लेगको खेलमा यही अग्रतालाई कायम राख्न जरुरी छ । आफ्नो मैदान क्याम्प नाउमा बार्सिलोनाले लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा सन्सनीपूर्ण जित हात पारेको हो ।

बार्सिलोनाले लिभरपुलविरुद्ध पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफको दुवै गोल मेसीको नाममा रह्यो । खेलमा बार्सिलोनालाई २६औं मिनेटमा लुइस स्वारेजले १–० ले अघि राखेका थिए । जोर्दी अल्बाको क्रसमा लिभरपुलका अन्तिम रक्षकलाई समेत पछि छाडेर आएको बललाई स्वारेजले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७५औं मिनेटमा मेसीले रिबाउण्ड बलमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । स्वारेजको प्रहार क्रस बारमा लागेर फर्किएको अवस्थामा मेसीले नियन्त्रणमा लिदै गोल गरेका थिए । त्यसको सात मिनेटपछि नै फ्रिकिकमार्फत आकर्षक गोल गरेका मेसीले बार्सिलोनाको जित ३–० ले निश्चित गरेका हुन् ।

बार्सिलोनासँगको यो पराजयले लिभरपुलका लागि भने अगाडिको यात्रा मुस्किल बनेको छ । लामो समयपछि युरोपियन च्याम्पियन्स लिगको उपाधितर्फ अग्रसर देखिएको लिभरपुलका लागि अव फाइनल यात्रा तय गर्न दोस्रो लेगको खेलमा कम्तिमा ४–० गोल अन्तरले जित निकाल्न आवश्यक छ । लिभरपुलले बार्सिलोनाविरुद्ध सीमित राम्रा अवसर सृजना गरेको थियो । सोही अवसरलाई समेत सदुपयोग गर्न नसक्दा लिभरपुल पहिलो लेगको खेलमा पराजित हुन पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: