भारतको ओडिशामा तुफानको भय: सेना हाइअलर्टमा, विद्यालय बन्द « Nagarik Khabar

भारतको ओडिशामा तुफानको भय: सेना हाइअलर्टमा, विद्यालय बन्द



काठमाडौँ । भारतमा फनी चक्रवाती तुफानको पूर्वानुमानले ओडिशा र आसपासको क्षेत्रका सतर्कता अपनाइएको छ । त्यसको असर नेपालमा पनि सामान्य पर्ने देखिएको छ । शुक्रवार र शनिवार नेपालको मध्य र पूर्वी नेपालमा असर देखिने भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य तथा पूर्वी नेपालमा शुक्रवार र शनिवार हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । पूर्वी नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने बाँकी क्षेत्रमा पानी पर्नेछ । आइतबारदेखि भने मौसम सुधार हुने अनुमान गरिएको उनले बताए । तर हावाहुरी पनि ठुलो नलाग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
भारतमा रेल सेवा बन्द
फनी चक्रवाती तुफानका कारण भारतमा १ सय ३ रेल सेवा रद्द गरिएको छ । भारतीय सेना र नेशनल डिजास्टर रेस्पोन्स फोर्स तयारी अवस्थामा राखिएको छ । तुफानका कारण सबैभन्दा धेरै प्रभावित हुने मानिएको ओडिशा र आन्ध्र प्रदेशमा पूर्व सूचना जारी गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चक्रवाती तुफान आज बेलुकीदेखि ओडिशाको पुरीमा आउन सुरु गर्ने बताइएको छ । भोलि सबैभन्दा ठुलो असर पर्ने भएकाले तटीय क्षेत्रमा नौ सेना, भारतीय वायु सेना र तट रक्षक बललाई हाई अलर्ट राखिएको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले पूर्व तयारी गरिसकेको छ ।
२० वर्षपछिको ठुलो तुफान
भारतमा सन् १९९९को सुपर साइक्लोनपछि फनी सबैभन्दा खतरनाक चक्रवाती तुफान हुनसक्ने पूर्वानुमान गरिएको छ । भोलि दिउँसो जगन्नाथ पुरी नजिकैबाट अगाडी बढ्ने आशङ्का गरिएको छ । हावाको गति प्रतिघण्टा १ सय ७५ किलोमिटर हुनेछ । भारतीय मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती तुफान फनी सुरु भैसकेको जनाएको छ ।
मौसम पूर्वानुमानको सूचनापछि ओडिशाका सबै विद्यालय बन्द गरिएको छ । स्वास्थ्यकर्मी र चिकित्सकको छुट्टी रद्द गरिएको छ । तुफानको असर आडिशामा बढी भए पनि आन्ध्र प्रदेश, तमिलनाडु र पश्चिम बंगालमा समेत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: