नाम र राजधानी टुङ्गो लगाउन कहाँ पुग्यो प्रक्रिया ? « Nagarik Khabar

नाम र राजधानी टुङ्गो लगाउन कहाँ पुग्यो प्रक्रिया ?



काठमाडौँ । प्रदेश सरकार बनेको एक वर्ष बितिसक्दा पनि चार वटा प्रदेशको नाम र राजधानीबारे अझै टुङ्गो लागेको छैन । समयमै नाम र राजधानी टुङ्गो नलाग्दा यो मुद्दा दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । प्रदेश एक, दुई, तीन र पाँचले आफ्नो प्रदेश नाम र राजधानी कहाँ राख्ने भन्ने बारेमा टुङ्गो लगाउन नसकेका हुन ।
प्रदेश १ मा सत्तारुढ दल नेकपा भित्रै विवाद छ भने प्रदेश ५ मा पनि त्यही अवस्था छ । देशका चार प्रदेशले अझै आफ्नो नाम र राजधानी चयन गर्न नसक्नुलाई राजनीतिक दलहरूबिचको मतभेद, सत्तारुढ दलकै सांसदहरूको स्वार्थ र क्षेत्रीय राजनीतिक द्वन्द्व प्रमुख कारण मानिएको छ । त्यही कारण अहिलेसम्म प्रदेश नम्बर एक, दुई, तीन र पाँचले यस्तो निर्णय लिन नसकेका हुन् ।

प्रदेश नम्बर १ मा प्रदेशको राजधानी विराटनगर, इटहरी धरान, धनकुटा हुनुपर्ने आवाज उठिरहेको छ । विराटनगरमा त मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन समेत गरिरहेको छ । धनकुटाले आन्दोलन गरेका कारण मुख्यमन्त्रीको सम्पर्क कार्यालय र श्रम तथा यातायात मन्त्रालय धनकुटा राख्ने निर्णय गरेको छ । प्रदेशको नाममा पनि विवाद देखिएको छ ।
कोसी, सगरमाथा, किराँत वा लिम्बुवान् जस्ता नामको बारेमा सार्वजनिक रूपमै छलफल हुन थालेका छन् । पूर्वका चार सोलु, ओखलढुङ्गा, खोटाङ र उदयपुरले सगरमाथा नामकरण हुनपर्नेमा धारणा सार्वजनिक गरेका छन् । नामको विषयमा धनकुटा, झापा, सुनसरी मौन बसेपनि ताप्लेजुङ, पाँचथर, तेह्रथुम जस्ता जिल्लाले लिम्बुवान् वा किराँत प्रदेश नामकरण गनुपर्नेमा आफ्नो आवाज बुलन्द पार्न थालेका छन् ।

त्यस्तै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर प्रस्ताव गरिएको छ । यस प्रदेशमा पनि वीरगन्ज, राजविराज जस्ता सहरमा राजधानी बनाउनुपर्ने आवाज उठी रहेका छन् । तर यस प्रदेशमा राजधानी कै लागि आन्दोलन भने अहिलेसम्म देखिएको छैन । विभिन्न सभा गोष्ठीका माध्यमबाट दबाब दिइरहेपनि जनकपुरका विषयमा सशक्त विरोध भने देखिएको छैन । तर पनि नाम र राजधानीको टुङ्गो लाग्न सकेको छैन । प्रदेश दुईमा भाषाको विवाद उत्कर्षमा छ । हिन्दी हुने वा प्रदेशको कामकाजी भाषा मैथिली हुने भन्ने विषय विवादमा छ । बहुसङ्ख्यक मैथिली भाषालाई कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्नेमा अडिग छन् ।

त्यसै गरी प्रदेश नम्बर ३ का लागि हाल तोकिएको अस्थायी राजधानी हेटौंडा टाढा भएकाले त्यसलाई सार्नुपर्ने आवाज उठेको छ । तर सार्दा कुन जिल्लामा सार्ने र प्रदेशको नामकरण के राख्ने भन्ने बारेमा अन्योल छ । प्रदेश ३ मा हेटौंडा, बनेपा, धुलिखेल, चितवन, भक्तपुर र ललितपुर प्रदेशको राजधानी हुनुपर्ने माग छ । सत्तारुढ दलकै सांसदबिच विवाद भएकाले राजधानी टुङ्गो लगाउन समस्या भएको छ । प्रदेशको नामका विषयमा पनि विवाद देखिन्छ । तामसालिङ्ग, नेवाः र वाग्मती जस्ता नामका विषयमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
राजधानीको विषयमा सबैभन्दा पेचिलो प्रदेश नम्बर ५ मा देखिएको छ । अहिलेको अस्थायी राजधानी बुटवल हुनुपर्नेमा बहुसङ्ख्यकको धारणा रहेपनि कपिलवस्तु, दाङ, नेपालगन्ज र प्युठानमा समेत राजधानी हुनुपर्ने माग छ । यस अघि अखण्ड लुम्बिनीको माग गरेका थिए । प्रदेश ५ को राजधानी बुटवल हुनुपर्नेमा सबै दलका यस क्षेत्रका नेताहरू एकमत रहेका छन् । नेकपाका उपमहासचिव विष्णु पौडेल, काँग्रेसका नेता बालकृष्ण खाँण, चन्द्र भण्डारी, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी लगायतका नेताले बुटवललाई राजधानी बनाउन सहमत भए पनि मुख्यमन्त्री शङ्कर पोखरेल दाङका भएकाले अझैसम्म तोकिएको छैन ।
पोखरेलको साथमा सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुन अनन्त पनि देखिएका छन् । उनीहरूभन्दा बुटवलका नेताहरू बढी प्रभावशाली भएका कारण अहिले पाँच नम्बर प्रदेशको राजधानी बुटवल हुने सम्भावना बढी छ । यसरी हेर्दा प्रदेशको राजधानीका विषयमा प्रदेश नम्बर एक र प्रदेश नम्बर पाँचको विषयमा असन्तुष्टि देखिएको छ ।

प्रदेशको नाम र राजधानी तोक्नलाई चाहिने दुई तिहाइ बहुमत प्रदेश नम्बर दुईमा बाहेक सबै प्रादेशिक सरकारसँग भएता पनि प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्रतिर राजधानी पार्ने प्रयास गर्नाले निर्णयमा पुग्न समस्या परिराखेको छ ।

यसअघि चार नम्बर प्रदेशले नाम गण्डकी प्रदेश र राजधानी पोखरा राखेको छ । त्यस्तै ६ नम्बर प्रदेशले नाम कर्णाली र राजधानी सुर्खेत तथा प्रदेश ७ ले नाम सुदुरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: