यती संसारमै हुँदैन, भारतीय सेना हावामा बोल्यो : जनावरविद् प्रा.डा. चालिसे (भिडियो सहित) « Nagarik Khabar

यती संसारमै हुँदैन, भारतीय सेना हावामा बोल्यो : जनावरविद् प्रा.डा. चालिसे (भिडियो सहित)



काठमाडौँ । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा राम्रै चर्चा भयो । सोमबर भारतीय सेनाले ६० लाख फ्लोअर्स भएको ट्वीटर ह्याण्डल मार्फत आरोहण दलले ’मकालुको आधार शिविरमा’ मिथक कथामा वर्णन गरिने यतीको रहस्यमय पैतालोको छाप भेटेको’ दाबी गरेको थियो ।

ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णन गरिने यती दक्षिण एसियाका लोककथामा भेटिन्छ । हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एसियामा यसलाई परम्परागत रूपमा विश्वास गरिदैं आएको छ । यती वा यसका पैतालोका छाप देखेको कथाहरू नेपाल, भारत र भुटानमा प्रचलित छ ।
सन् २०१३ मा ब्रिटिस् वैज्ञानिकको टोलीले यती हिमालमा पाइने भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेको थियो । हालैका वर्षमा यतीको अस्तित्वका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन् ।

सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुर्‍याइएको एउटा ’यतीको औँला’ मानिसको हाड भएको प्रमाणित भएको थियो । नेपालमा पटक पटक चर्चा हुने यतीको कुरा नयाँ विषय भने होइन । नेपालमा यती अर्थात् हिममानवको विषयमा बेला बेलामा चर्चा हुन्छ । यो विषयमा विज्ञहरू भने वैज्ञानिकता हुनुपर्ने तर्क गर्छन् ।

नेपालमा यतीको पाइला भेटिएको र यस बारे विभिन्न चर्चा भएपछि हामीले जनवारविद् प्रा.डा. मुकेश चालिसेलाई सोध्यौँ, ‘के नेपालमा यतीको अस्तित्व छ ?’ उनले यती संसारमै कहिल्यै अस्तित्वमा नआएको भन्दै भारतीय सेनाको दाबीलाई ‘हावा’को संज्ञा दिए ।

जनावरविद् प्रा. डा. मुकेश चालिसेको भनाई जस्ताको त्यस्तै ।


हरेक क्षेत्रमा वैज्ञानिकताको आवश्यकता पर्दछ । हरेक क्षेत्रमा प्रमाणको आवश्यकता पर्दछ । उहाँहरूले (भारतीय सेना) होइन उहाँहरुले भन्दा धेरै अगाडि हाम्रो लोक गायक कुमार बस्नेतले पहिले नै मैलो चीलाङ्खा र रामेछापमा यती देखाइदिन्छु भन्नु हुन्थ्यो ।

अहिले भर्खर पनि रामेछापमा गौशीशंकर संरक्षण क्षेत्रमा ठूलो भालुलाई त्यहाँका गुम्बा देखि लिएर संरक्षणमा लागेका मान्छेले पनि ‘यती आयो लुगा लगाएर, भुत्लै भुत्ला छ’ भन्थे । अनि एकजना मेरै विद्यार्थीले पठाउनु भएको थियो फोटो । मैले भने ‘त्यो त होइन । त्यो त हिमाली भालु हो त्यो ।’ त्यो बरु हिमाली भालु ठूलो खालको रहेछ । कुनै कुनै भालु एकदम ठूलो हुन्छ ।

फेरी यो जाडो पछि निस्कने भालु त अब खाएर मस्त सुतेर निस्केको हुन्छ । त्यसले गर्दा बोसो जमेको हुन्छ । त्यही भएर ठूलो देखिन्छ । अथवा अरु कुनै जनावर । मलाई सगरमाथाबाट एउटा हाडै लिएर एउटा जापनिज टोलीले मलाई देखाएको थियो । र जापानको एनएचकेले मसँग इन्टरभ्यू लिएको थियो । त्यो टाउकोको हाड हेर्दा त्यो गाईको जस्तो देखिन्थ्यो ।

जबकी हिउँ मानव हो, यदि यती नै हो भने त यसको टाउको म जस्तो, बाँदर जस्तो त हुनु पर्ने नि ? डल्लो परेको हुनुपर्ने नि । त्यस्तो थिएन । त्यो त गाईबस्तुको जस्तो थियो । अनि मैले भने ‘मान्छेले धर्म सम्झेर, मान्छेले राम्रो लागेर राख्यो होला ।’

जस्तो विभिन्न धार्मिक विश्वास गर्नेहरूले त ढुङगालाई पनि भगवान् भनेर पूजा गरेकै छन् नि, हो त्यस्तै । मान्छेको विश्वास हो । यो हरेक जाति, हरेक धर्म र हरेक समुदायमा आ–आफ्नै कथाहरू पाइन्छन् ।

नेपालमा यस्ता कथाहरू प्रशस्त छन् । यसमा तपाईंलाई म जोड्दी हाल्छु पूर्वी नेपालतिर राँके भूत प्रशस्त पाइन्छ । अझ हाम्रा राई साथीहरू लकुवामा गएर मैले हेरे पनि । फोटो पनि खिचे । राँके भूत प्रशस्त पाइन्छ, राई गाउँमा ।

किन भने पहिले राईहरुको चलन के रहेछ भने आफन्त मरेपछि आफ्नै घरमा गाड्ने । आफ्नो घरमा ठाउँ धेरै कम भयो भने आँगनमा गाड्ने । होइन भने बारीसम्म लगेर गाड्ने चलन रहेछ । अहिले मात्रै टाढा लगेर गाड्ने चलन रहेछ । त्यो चलनले गर्दा पुर्खादेखि आफ्नै बारीमा, आफ्नै आँगनमा कैयौँ पुर्खालाई गाडियो ।

मानिसको मृत शरीरबाट निस्कने फोस्फरस जम्मा हुँदै गयो । जम्मा हुँदै गएपछि जसरी काठमाडौँमा धेरै फोहोर जम्मा भएको ठाउँमा मिथेन ग्यास निस्केको जस्तै त्यहाँ पनि फोस्फोरस बल्दो रहेछ । र, मेरै आँखाले देख्यो । की म दशैपछिको अँधेरीमा रातमा गएको थिएँ । त्यो अँधेरी रातमा यो गाउँबाट पारी गाउँमा झलझल्ती विजुली बल्या जस्तो । मैले फोटो खिचे, फोटो त आएन धेरै टाढा थियो । तर मेरो आँखैले देख्यो र मलाई थाहा छ त्यो फोस्फरस ग्याँस हो ।

तर, उहाँहरु भन्नु हुन्छ त्यो वनसुन्दरी हो । वन सुन्दरीले बत्ती बालेको भनेर गाउँलेले मलाई भने । त्यो यति धेरै तेजिलो हुन्छ कि मैले रुखको पात समेत फोटोमा उतारे । रुखको पात समेत देखिने गरी राँको बल्यो । तर त्यो वन सुन्दरी होइन । त्यो फोस्फरस हो, त्यस्तै यतीको कथा पनि झन्डै–झन्डै मलाई त्यस्तै लाग्छ ।

हाम्रो देशमा मुर्कटा, किचकन्नी, एकखुट्टे, डल्ले भूत, राँके भूत यस्ता सबै नामहरू प्रचलनमा छन् । यो धार्मिक हिसाबले, सामाजिक हिसाबले, राजनीतिक हिसाबले पनि हो । मानिसहरू सङ्गठित होलान्, राति–राति गोप्य गफ गर्लान् भनेर धेरै अघिदेखि शासन गर्नेहरूले पनि यस्तो हल्ला चलाएका हुन् । त्यो भएकाले अहिलेसम्म म चाहिँ प्रमाणित नभएका हुनाले म यसलाई अन्धविश्वास भन्छु ।

जहाँसम्म भारतीय सेनाको कुरा छ । भारतीय सेनामा कति वैज्ञानिक छन् ? उनीहरूले देखेका कुरा कति राम्रा हुन् ? अझै पनि मलाई लाग्छ त्यो सेनाले जय बज्रङ्बली भनेरै बज्रङ्बलीलाई पूजा गर्दो हो । जब कि बज्रङ्बलीले शक्ति दिने होइन । त्यो कुरा विश्वास मात्र हो ।

अहिले पनि उनीहरूले हाम्रो भारतमात्रै सबैभन्दा ठूलो हो भनेर भन्दछन्, जब कि त्यही भारत जोगाउन हाम्रा गोर्खाली सेनाले, हाम्रा नेपाली सेनाले रगत बगाएका छन् । त्यस कारण यो आफ्नो आफ्नो विश्वास हो । हामीले हेर्दा वैज्ञानिकता हेर्नु पर्छ । यदि त्यो विज्ञानसम्मत छ, प्रमाणित गर्न सकिन्छ भने त्यो विज्ञान हो । होइन भने अन्धविश्वास मात्र हो । सिटामोलले ज्वरो निको हुन्छ सिटामोलले झाडापखाला निको हुँदैन।

यो यतीको कुरा पनि त्यस्तै हो । अहिलेसम्म यती छ भन्ने प्रमाणित भएको छैन । यो कथामात्रै हो । त्यसरी नै बुझ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: