काठमाडौं । रसुवागढी हाइड्रोपावरको सेयर बाँडफाँड बिहिवार भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा आईपिओ बाँडफाँड भएको हो । रसुवागढीमा आवेदन गरेका सभामुख कृष्णबहादुर महरा र उर्जा मन्त्री पुनले ४०/४० कित्ता सेयर प्राप्त गरेका छन् ।
पूर्वसभामुख एवं मन्त्री पुनकी पत्नी ओनसरी घर्तीमगर र सभामुख महराकी पत्नी सीता महराले पनि रसुवागढीबाट ४०/४० कित्ता सेयर प्राप्त गरेका छन् । चारै जनाले रसुवागढीमा १ हजार कित्ता आईपिओका लागि आवेदन दिएका थिए ।
४० कित्तासम्म लगानी गर्ने सबैले माग अनुसारकै सेयर प्राप्त गरेका छन् । केहीले ५० कित्तासम्म सेयर प्राप्त गरेका हुन । कम्पनीको कुल १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको माग भएकोमा आवेदन गर्ने सबैले कम्तिमा ४० कित्ता प्राप्त गरेका बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
त्यस्तै साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण सेयर पनि उर्जा मन्त्रालयमै बाँडफाँड गरिएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार माग गरेका सबैले कम्तिमा पनि १० कित्ता सेयर प्राप्त गरेका छन् । केहीले २० कित्ता समेत प्राप्त गरेका छन् । साञ्जेनले १ करोड ३८ लाखा ६९ हजार ७ सय ३० कित्ता माग भएको थियो ।
साञ्जेनमा पनि सभामुख महरा र उनकी पत्नी सीताले २०/२० कित्ता तथा उर्जामन्त्री पुन र उनकी पत्नी ओनसरीले समान २०/२० कित्ता प्राप्त गरेका छन् । साञ्जेनमा चारै जनाले ५ सय कित्ता आवेदन दिएका थिए ।