राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित « Nagarik Khabar

राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित



काठमाडौं । झन्डै तीन महिना अघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्व ऐतिहासिक एकदिवसीय र टी–२० शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू नगदसहितले सम्मानित भएका छन् ।

खेलाडीहरूलाई बिहिबार युवा तथा खेलकूद मन्त्रालयले आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा जनही पाँच लाखका दरले सम्मान गरेको हो । यस्तै सो शृंखलामा सहभागी अफिसियल जनही दुई लाख र मुख्य प्रक्षिक तीन लाखसहितले सम्मानित भए ।

नेपालले गत माघमा युएईविरुद्धको तीन खेलको एकदिवसीय र तीन खेलकै टीट्वेन्टी शृङ्खला समान २–१ ले जितेको थियो । जुन नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय टोलीको मान्यता पाएपछि जितेको पहिलो एक दिवसीय शृंखला हो ।

पुरस्कृत हुने खेलाडीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनास बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् ।

शृंखला जितेपछि सरकारले गत माघ २५ गते क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले आज नगद प्रदान गरेको हो ।

यसैगरी विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई पनि सरकारले सम्मानस्वरूप पाँच लाख प्रदान गरेको छ । गत डिसेम्बरमा थाइल्याण्डको चेनमाईमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजी तौल समूहमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।

त्यसैगरी झन्डै तीन वर्षअघि १२औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने नेपाली यु–२३ फुटबल टोलीका सदस्यलाई पनि सरकारले तीन÷तीन लाखले पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: