चार महिनापछि सर्‍यो डव्ल्यूसीएल « Nagarik Khabar

चार महिनापछि सर्‍यो डव्ल्यूसीएल



काठमाडौं । प्रतियोगिताको मिति जुधेपछि जेठको पहिलो साताबाट सुरु हुने भनिएको वुमेन च्याम्पियन्स लिग (डव्ल्यूसीएल) को मिति पनि चार महिना पछि सरेको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले बिहिबार विज्ञप्तिमार्फत प्रतियोगिता चार महिना पछि सरेको जानकारी गराएको हो ।

डव्ल्यूसीएल यस अघि जेठको ३ देखी १२ गतेसम्म किर्तिपुरको त्रीबि क्रिकेट मैदानमा हुने जनाइएको थियो । नयाँ मितिअनुसार प्रतियोगिता अव असोजको ३ देखी ११ गतेसम्म त्रीबि मैदानमै हुने छ ।

‘हामीले घोषणा गरेको समयमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भएपछि हामीले प्रतियोगितालाई पछि सार्नु परेको छ’, क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा.ली.का प्रबन्ध निर्देशक छुम्वी लामाले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री कप सकिएपछि वर्षायाम सुरु हुने भएकाले प्रतियोगितालाई हामीले अझ पछि सारेका हौं ।’

आयोजकले प्रतियोगिताका लागि अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि आवेदन खुल्ला गरिएको पनि जनाएको छ । विज्ञप्तिमा जनाइएअनुसार खेलाडीहरूले http://events.esewa.com.np/registration मा गई आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।

आयोजक क्विस इभेन्ट म्यानेजमेन्टले खेलाडीहरूलाई तीन श्रेणीमा बिभाजन गरी अक्सनमा सहभागी गराउँने जनाएको छ । जसमध्ये राष्ट्रिय टोलीका खेलाडीहरूलाई डायमण्ड, कुनै समय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूलाई रुबिज र क्षेत्रीय वा प्रदेशबाट खेलेका खेलाडीहरूलाई सफायर श्रेणीमा राखिने छ । यस्तै वाइल्ड कार्ड इन्ट्रीबाट प्रत्येक सहभागी टोलीहरूले दुई÷दुई नयाँ खेलाडीलाई लिनुपर्ने छ ।

प्रतियोगितामा चितवन राइनोज, क्यापिटल्स रोयल्स काठमाडौं, पोखरा पल्टन, ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्सले सहभागीता जनाउदै छन् । चितवनको मालिक मिंग्मा डण्डु शेर्पा र मार्की खेलाडी इन्दु बर्मा रहेका छन् । यस्तै क्यापिटल्स रोयल्स काठमाडौंको मालिक दीपा अग्रवाल र मार्की खेलाडी रुविना क्षेत्री, पोखरा पल्टनको मालिक विनायक पोखरेल र सीता रानामगर मार्की खेलाडी तथा विराटनगरका मालिक पारस लुनिया र सरिता मगर मार्की खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: