चक्रवाती तुफान ‘फनी’को असर नेपालमा कस्तो पर्छ ? (भिडियो) « Nagarik Khabar

चक्रवाती तुफान ‘फनी’को असर नेपालमा कस्तो पर्छ ? (भिडियो)



काठमाडौं । भारतमा फनी चक्रवाती तुफानको असर शुरु भएको छ । तुफानको असर नेपालमा पनि पर्ने देखिएको छ । भारतको पूर्वी तट तर्फ बढिरहेको चक्रवाती तुफान फनीले जगन्नाथ पुरी र आसपासको क्षेत्रमा बिहिबारदेखिनै असर देखिएको छ ।

मुख्य असर भने शुक्रवार दिउँसोदेखि देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रतिघन्टा २ सय ५ किलोमिटरका दरले अगाडी बढ्नसक्ने आँधीका कारण जनजीवन कष्टकर बनेको छ । ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तटीय क्षेत्रमा जान स्थानीयलाई रोक लगाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन बैठक बोलाएका छन् । बिहिवारदेखिनै मुसलधारे पानी परिरहेको छ । तीन दिनसम्म ओडिशा र आसपासको क्षेत्रमा रेल सेवा बन्द गरिएको छ । भारतको निर्वाचन आयोगले ११ जिल्लामा चुनावी आचार संहिताको हटाएको छ । 

भारतीय सेना र नेशनल डिजास्टर रेस्पोन्स फोर्स तयारी अवस्थामा राखिएको छ । तुफानका कारण सबैभन्दा धेरै प्रभावित हुने मानिएको ओडिशा र आन्ध्र प्रदेशमा पूर्व सूचना जारी गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ । तटीय क्षेत्रमा नौ सेना, भारतीय वायु सेना र तट रक्षक बललाई हाई अलर्ट राखिएको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले पूर्व तयारी गरिसकेको छ ।

भारतमा सन् १९९९को सुपर साइक्लोनपछि फनी सबैभन्दा खतरनाक चक्रवाती तुफान हुनसक्ने पूर्वानुमान गरिएको छ । तुफान शुक्रवार जगन्नाथ पुरी नजिकैबाट अगाडी बढ्ने आशङ्का गरिएको छ । हावाको गति प्रतिघण्टा १ सय ७५ किलोमिटर हुनेछ । भारतीय मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती तुफान फनी सुरु भैसकेको जनाएको छ ।

मौसम पूर्वानुमानको सूचनापछि ओडिशाका सबै विद्यालय बन्द गरिएको छ । स्वास्थ्यकर्मी र चिकित्सकको छुट्टी रद्द गरिएको छ । तुफानको असर आडिशामा बढी भए पनि आन्ध्र प्रदेश, तमिलनाडु र पश्चिम बंगालमा समेत हुनेछ ।

नेपालमा कस्तो हुन्छ असर ?

ओडिशा र आसपासको क्षेत्रमा सतर्कता अप्नाइएको छ । त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । शुक्रवार र शनिवार नेपालको मध्य र पूर्वी नेपालमा असर पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार फनीले शुक्रवार जमिनमा प्रहार गर्ने र त्यो ओडिशाको तट हुँदै बांग्लादेशतर्फ लाग्ने अनुमान छ ।

सामुन्द्री आँधी नेपाल नजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतर्फ जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने भएकोले सर्तकता अपनाउन पौडेलले आग्रह गरे । फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ ।

मौसमविद् बरुण पौडेल (भिडियो)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: