‘प्रतिबन्धित’ गणेश थापाले कसरी पाए यो अवसर ? « Nagarik Khabar

‘प्रतिबन्धित’ गणेश थापाले कसरी पाए यो अवसर ?



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)बाट १० वर्षका लागि फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्धित छन् । तर, उनै थापा फिफा र एएफसीकै सिनियर अधिकारीहरूसँग उठबस गर्दै आइरहेका छन् ।

एन्फाको आयोजनामा काठमाडौंमा गत मंगलबार सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसको अवसरमा काठमाडौंमा आएका फिफा र एएफसीका पदाधिकारीहरुसँग थापाको भेटघाट भएको खुलासा भएको हो । कारबाहीमा परेका थापासँग फिफा र एएफसीका पदाधिकारीको भेटघाट फिफा र एएफसीको निर्णयको उल्लङ्घन मात्रै भएको छैन, नेपाली फुटबललाई लिएर अन्य धेरै आशंका पनि उब्जाएको छ ।

फिफाले सन् २०१५ को नोभेम्बरमा घुस प्रकरण र वर्षौदेखि अनियमितता गरेको आरोपमा साफका पूर्वउपाध्यक्ष समेत रहेका थापालाई कारबाही गरेको हो । त्यसअनुसार अहिले उनको प्रतिबन्ध तीन वर्ष पाँच महिना पुगेको छ । यसको अर्थ उनी अझै ६ वर्ष सात महिना प्रतिबन्धमै रहनुपर्ने छ । उनी यो अवधिमा फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन् ।

तर, यहाँ उनै प्रतिबन्धित व्यक्ति फुटबलको सर्वोच्च निकाय फिफाका साथै एएफसीका उच्च अधिकारीहरूको संगतमा पुगेका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको तस्वीर र त्यसमा लेखिएको स्टाटसअनुसार उनले एएफसीका उपाध्यक्ष मखदुम शेयद फैसल हायात, फिफा काउन्सिल सदस्य प्रफुल पटेल, साफका अध्यक्ष काजी सलाहुदिनलगायत पदाधिकारीहरूसँग सामूहिक तस्वीर मात्रै खिचाएका छैनन्, उनीहरूसँगै ‘डिनर’ पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलका उच्च पदाधिकारीहरूसँगको भेटपछि उनले तस्वीरसहितको स्टाटसमा लेखेका छन्, ‘एएफसीका उपाध्यक्ष मखदुम शेयद फैसल हायात, फिफा काउन्सिल सदस्य प्रफुल पटेल, साफका अध्यक्ष काजी सलाहुदिनलगायत अन्य पदाधिकारीसँगको भेट एकदमै आनन्ददायी रह्यो । हामीले पुराना दिनहरू सम्झिएर साँच्चिकै गुणस्तरीय समय बितायौं । उनीहरूलाई नेपालमा भेट्न पाउँदा सधैं खुसी लाग्ने गरेको छ ।’ यही स्टाटसमा थापाले उनीहरूसँग डिनर गरेको र अन्य विभिन्न ‘पोज’मा खिचेको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

आफ्नो देशमा आफ्नै आयोजनामा भएको फुटबलसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा फिफाको प्रतिबन्धमा रहेका व्यक्तिले फिफा र एएफसीजस्ता निकायका जिम्मेवार व्यक्तिसँग भेटघाट गर्नु एन्फा नेतृत्वको पनि गल्ती देखिएको छ ।

बैठक आयोजनाको जिम्मेवारी पाएको एन्फाले भने गणेश थापाले फिफा र एएफसीका अधिकारीहरूलाई भेटेको आफूलाई जानकारी नभएको बताएको छ । ‘हामी बैठक सकेर निस्कँदै गर्दा उहाँ होटलमा छिर्नुभएको थियो,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नागरिक खबर डटकमलाई भने, ‘यद्यपि उनले कसलाई भेटे वा के गरे भन्नेबारे हामीलाई जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: