‘फानी’ को प्रभाव शुक्रबारदेखि, सतर्क रहन मौसमविद्को आग्रह « Nagarik Khabar

‘फानी’ को प्रभाव शुक्रबारदेखि, सतर्क रहन मौसमविद्को आग्रह



काठमाडौं । शत्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ । यो अहिले बंगालको खाडीबाट करिब दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातिर बढिरहेको छ । भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् । भारतमा विपद् व्यवस्थापन निकायले परिस्थिति विकराल हुने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सतर्क हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

‘फानी विस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको छ,’ मौसमविद् पौडेलले भने, ‘शुक्रबारबाट यो प्रणाली उडिसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना देखिन्छ ।’ त्यो त्यहाँको तट हुँदै बंगलादेशतर्फ फर्कनेछ । फानी फर्कने क्रममा नेपालको पूर्वी भागमा असर पार्ने देखिएको हो । उक्त प्रणाली तटीय क्षेत्र (जमिनमा) आएपछि भने शक्ति घट्नेछ ।

महाशाखाका अनुसार उक्त प्रणाली भारतको विहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: