काठमाडौं । शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा शुक्रवार बिहान प्रहार गरेको छ ।
बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।
आँधीको प्रभावले त्यहाँ वर्षा समेत भइरहेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा प्रहार गर्नेछ ।
फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
ओडिशाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा र बन्दरगाह बन्द गरिएको छ। पुरीमा सबै शैक्षिक संस्था बन्द गरिएका छन्।
आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो ।
नेपालमा प्रभाव
मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने बताएको छ । तर पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्नेछ।
शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।