सुपर ओभरमा हैदरावादलाई पराजित गर्दै मुम्बई ‘प्लेअफ’मा « Nagarik Khabar

सुपर ओभरमा हैदरावादलाई पराजित गर्दै मुम्बई ‘प्लेअफ’मा



मुम्बई । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । बिहिबार भएको खेलमा हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्रतियोगिताको उपाधि सम्भावनालाई जीवितै राखेको हो ।

पराजयले हैदरावादलाई भने प्लेअफ प्रवेश मुस्किल बनेको छ । हैदरावादलाई अन्तिम चारमा स्थान सुरक्षित गर्न बाँकी रहेको आफ्नो एक खेलमा जित हात पारेर मात्रै पुग्ने छैन । अन्य खेलको नतिजामा समेत भर पर्नुपर्ने छ । प्लेअफ चरणमा बाँकी रहेको एक स्थानका लागि हैदरावादसँगै राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र किङ्स इलाभेन पञ्जाव चार टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

मुम्बईसँगै चेन्नाई सुपर किङ्स र दिल्ली क्यापिटल्स यस अघिनै प्ले अफ चरणमा पुगिसकेका छन् । बिहिबार आफ्नो वाङ्खेडे स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रनको योगफल तय गरेको थियो ।

जवाफी ब्याटिङमा आएको हैदरावादले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६२ रननै बनाएपछि खेलको निर्णय सुपर ओभरमार्फत गरिएको थियो ।

निर्धारित ओभरको खेलमा मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ५८ बलमा अविजित ६९ रनको योगदान दिए । उनले आफ्नो पालीमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । यस्तै कप्तान रोहित शर्माले २४ तथा सुर्यकुमार यादवले २३ रन जोडेका थिए ।

हैदरावादका लागि भने मनिश पाण्डेले ४७ बलमा ७१ रनको योगदान दिए । उनले आफ्नो पालीमा दुई छक्का र आठ चौका प्रहार गरे । मोहम्मद नावीले ३१ र ऋद्वीमान शाहले २५ रन जोडे ।

बलिङतर्फ हैदरावादका खलिल अहमेद एक्लैले तीन विकेट लिएका थिए । यस्तै मुम्बईका जसप्रित बुम्राह, हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्याले दुई/दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: