आर्सनल र चेल्सी युरोपा लिगको फाइनल नजिक « Nagarik Khabar

आर्सनल र चेल्सी युरोपा लिगको फाइनल नजिक



लण्डन । दुई इङ्लिस क्लब आर्सनल र चेल्सी युरोपा लिग फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेका छन् । शुक्रबार बिहान भएको सेमिफाइनल पहिले लेगको खेलमा आर्सनलले आफ्नै मैदानमा स्पेनी क्लब भ्यालेन्सियालाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । यस्तै अर्काे खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रानच्ट फ्राङ्फर्टसँग उसकै मैदानमा १–१ को बराबरी खेल्यो ।

अर्काे साता हुने दोस्रो लेगको खेलमा यही नतिजालाई निरन्तर्ता दिन सकेको अवस्थामा यस पटकको युरोपा लिग फाइनलमा उपाधिका लागि दुई इङ्लिस टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

लण्डन स्थित आफ्नो इमिरेट्स स्टेडियममा आर्सनल एक गोलले पछि परेको अवस्थाबाट फर्केर जित निश्चित गरेको हो । जसमा फ्रान्सेली स्ट्राइकर एलेज्यान्डर लाकाजेट्टीले दुई तथा पिइरे औबामेयाङले एक गोल गरे ।

खेलमा आर्सनल ११औं मिनेटमा पछि परेको थियो । कर्नरबाट आएको बललाई हेडिङ गोल गर्दै मउक्तार दियाखाबीले गोल गर्दै भ्यालेन्सियालाई १–० ले अघि राखेका थिए ।

यद्यपि आर्सनलले त्यस लगत्तैबाट गोल फर्काउन सुरु गरेको थियो । आर्सनललाई खेलको १८औं मिनेटमा लाकाजेट्टीले १–१ को बराबरीमा फर्काए । औबामेयाङले खाली पोस्टमा मिलाइदिएको बललाई गोलमा परिणत गरेका थिए ।

त्यसको आठ मिनेटपछि नै लाकाजेट्टीले नै टोलीलाई २–१ को अग्रता दिलाए । ग्रानित शाकाले क्रस गरेको बललाई हेडिङ गोलमा परिणत गर्दै लाकाजेट्टीले टोलीलाई अगाडि बढाएका थिए । त्यसपछि खेलको ९०औं मिनेटमा औबामेयाङले गोल गर्दा आर्सनलको जित ३–१ निश्चित भएको थियो ।

यस्तै महत्वपूर्ण खेलाडी इडेन हाजार्ड बेञ्चमै रहेर सुरु गरेको खेलमा चेल्सीले फ्राङ्कफर्टसँग महत्वपूर्ण अवे गोलको सफलता हात पारेको छ । खेलमा घरेलु टोली फ्राङ्कफर्टले २३औं मिनेटमै अग्रता बनाएको थियो । फिलिप कोस्टिकको क्रस बललाई गोलमा परिणत गराउदै सर्भियन स्ट्राइकर लुका जोभिचले फ्राङ्कफर्टलाई १–० ले अघि बढाएका थिए ।

यद्यपि खेलको ४५औं मिनेटमा पेद्रोले चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । रुबेन लफटस चेकले दिएको बललाई पेद्रोले गोलमा परिणत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: