प्रदेश नम्बर ७ र ३ सेमिफाइनलमा « Nagarik Khabar

प्रदेश नम्बर ७ र ३ सेमिफाइनलमा



काठमाडौं । प्रदेश नम्बर ७ मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर ६ लाई ३५ रनले पराजित गर्दै प्रदेश नम्बर ७ ले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो नतिजाले शुक्रबार मैदान बाहिरै रहेको प्रदेश नम्बर ३ पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह एको विजेता र उपविजेता टोलीको टुङ्गो भने आइतबार हुने प्रदेश नम्बर ३ र ७ बीचको खेलपछि टुङ्गो लाग्ने छ । शुक्रबार त्रीबि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ७ ले वर्षाका कारण २२ ओभरमा छोट्याइएको खेलमा आठ विकेट गुमाउदै एक सय १४ रनको योगफल तय गरेको थियो ।

जवाफी ब्याटिङमा आएको प्रदेश नम्बर ६, १८.४ ओभरमा ७९ रनमै समेटिएपछि प्रदेश नम्बर ७ विजयी बनेको हो । प्रदेश नम्बर सातको जितमा प्रारम्भिक ब्याट्सम्यान सुवास अयरले ४६ बलमा ५४ रनको योगदान दिएका थिए । उनले आफ्नो पालीमा आठ चौका प्रहार गरेका थिए ।

अलराउन्ड प्रदर्शन गरेका उनले तीन विकेट समेत लिएका थिए । प्रदेश नम्बर ६ का लागि भने रितिक जंग शाहले १९ तथा विवेक शाहीले १७ रन जोड्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

शुक्रबार कै लागि तय भएको प्रदेश नम्बर २ र प्रदेश नम्बर एकको खेल भने वर्षाका कारण अनिर्णित भएको छ । यससँगै दुबै टोलीले एक/एक अंक बाढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: