यसै वर्षभित्रै दक्षिण एशियाली खेलकुद प्रतियोगिता गर्ने घोषणा « Nagarik Khabar

यसै वर्षभित्रै दक्षिण एशियाली खेलकुद प्रतियोगिता गर्ने घोषणा



काठमाडौं । सरकारले आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सन् २०१९ भित्रै तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को शुक्रबारको बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमा यसै वर्षभित्र तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालमा नै आयोजना गर्ने उल्लेख गरिएको छ ।

काठमाडौँको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ ।

त्यसैगरी क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिने र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ ।

सबै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला र स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीव्रता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: