काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’ संसद्मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो प्रश्न गर्नुको कारण थियो, बजेट आउनुअघि सार्वजनिक भएको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका लागि मागिएका ४ दर्जनभन्दा बढी योजनाको फेहरिस्त ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय (प्रधानमन्त्रीको निजी सचिवालय)ले आगामी बजेटमा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ मा पहिचान गरिएका विकासका योजना समेट्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडबाट चैत २९ गते आयोगलाई पठाइएको पत्रमा ५० भन्दा बढी विकासे योजनाका नाम छन् । ‘आगामी आवको बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखी समावेश गरिदिनका लागि त्यहाँ पठाइएको निर्देशनअनुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।