बाबुराम र उपेन्द्र मिल्दा अशोकमाथि अन्याय ? « Nagarik Khabar

बाबुराम र उपेन्द्र मिल्दा अशोकमाथि अन्याय ?



काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको एकता प्रक्रिया अघि बढिरहेको छ । यो प्रक्रिया अघि बढ्दा आन्तरिक रुपमा भने पदीय भागवण्डामा कुरो टुंगोमा पुग्न सकेको छैन ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पदीय भागवण्डाको अन्तिम टुंगो लागेपनि अन्य नेताहरुको जिम्मेवारी भने भद्रगोल देखिएको एक शीर्ष नेताले बताएका छन् ।

उनका अनुसार, शीर्ष दुई नेताको जिम्मेवारीबारे पनि आफूहरुलाई चित्त नबुझेको भन्दै नेताहरुबीच छलफल चलिरहेको छ । यादव र भट्टराई दुवै जना अध्यक्ष बनेर पार्टी अघि बढाउने कुराले पनि पार्टीमा विवाद रहेको ती नेताले बताए ।

संघीय समाजवादी र मधेसी जनअधिकार फोरमबीचको एकता प्रक्रियामा पनि त्याग गरेर बरिष्ठ नेतामै चित्त बुझाएका अशोक राई पक्षधरहरुले भने चित्त दुखाएका छन् । दुई अध्यक्ष हुँदा तीन अध्यक्ष किन बनाउन नहुने भन्ने तर्क उनीहरुको छ ।

बरिष्ठ नेता अशोक राईलाई पनि अध्यक्ष बनाउनुपर्ने माग जोडतोडले उठेको छ । एक नेताले प्रश्न गरे– ‘उपेन्द्र र बाबुराम मिलेर अशोकमाथि अन्याय गर्न मिल्छ ?’ अशोक राईलाई पनि अध्यक्ष बनाउँदा क्लस्टर पनि मिल्ने दावी अशोक राई पक्षको छ ।

‘पार्टीभित्र तीन क्लस्टर मधेसी, आदिवासी जनजाति र खस आर्यबाट क्रमशः उपेन्द्र यादव अशोककुमार राई र बाबुराम भट्टराइ अध्यक्ष हुँदा पार्टी सशक्त पनि हुन्छ’ ती नेताले भने– पार्टी बलियो बनाउने कि कमजोर ? भागबण्डा मिलाउने नेताहरुले गम्भीर रुपमा सोचोस ।

संघीय समाजवादी फोरमको पार्टी संगठन प्रवासमा सशक्त छ । प्रवासमा रहेका नेताहरुले पनि उत्तिकै चिन्ता गरेका छन् । फोरम पार्टी निर्माणमा अशोक राईको महत्वपूर्ण भूमिका रहेको र विगतमा पनि त्याग गरेर अध्यक्ष छाडेको भन्दै नयाँ शक्तिसित मिल्ने सन्दर्भमा पनि अशोक राईलाई पन्छाउन नहुने तर्क प्रवासमा रहेका नेताहरुको छ ।

नेपाली संघीय समाज फोरम कतारका अध्यक्ष हिराधन राईले भने– पार्टी एकता गर्दै अध्यक्षात्मक प्रणाली बनाउँदा अशोक राईमाथि फेरि अन्याय हुनुहुन्न । तीन अध्यक्ष बनाएर जानुपर्छ । त्यसतर्फ ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: