‘मेरो सरकार’को विरोधपछि प्रधानमन्त्रीको जवाफ, मैले मेरो देश भन्छु, मेरो मात्रै हो र ? « Nagarik Khabar

‘मेरो सरकार’को विरोधपछि प्रधानमन्त्रीको जवाफ, मैले मेरो देश भन्छु, मेरो मात्रै हो र ?



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि लाग्ने निरन्तरको आरोप हो –आलोचना सहँदैनन् । बरु, आलोचकहरुलाई खरो जवाफ दिन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेका ‘मेरो सरकार’ शब्दमाथि आलोचनापछि धेरैलाई जिज्ञासा थियो, यसमा प्रधानमन्त्री ओलीले के जवाफ दिन्छन् ?

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने मात्रै हो । तै पनि नीति तथा कार्यक्रममा प्रयोग भएका ‘मेरो सरकार’ शब्दमाथि धेरैले प्रतिक्रिया दिए ‘यो त राजतन्त्रको झल्को भयो ।’ यसबाट सरकारसँगै राष्ट्रपतिको पनि आलोचना भयो ।

‘मेरो सरकार’माथि भईरहेको आलोचनाले नीति तथा कार्यक्रम नै ओझेलमा परेपछि नीति तथा कार्यक्रम प्रस्तुत भएको १५ घण्टाभित्रै प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेरै ‘मेरो सरकार’को बचाउ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पउने नौ बजे भएको ‘पत्रकारसँग छलफल’मा सुरुमा प्रधानमन्त्री ओलीले सुझाव, जिज्ञासा मागे । उनलाई अड्कल भएको हुनुपछ, पत्रकारहरुले सुरुमै ‘मेरो सरकार’को कुरा उठाउने छन् ।

त्यहीं जिज्ञासाबाट सुरु भएको पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले ‘मेरो सरकार’माथि लामो जवाफ दिए । विभिन्न विषयमा सवाल जवाफ गरेका प्रधानमन्त्रीले पत्रकारसँग एक घण्टा बिताए ।

‘मेरो सरकार’माथि भईरहेको आलोचनामा प्रधानमन्त्रीले दिएका जवाफ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

मैले मेरो देश भन्दा तपाईंहरुको होइन भनेको हो र ?

राष्ट्रपतिले मेरो सरकार भन्नु भयो । मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा तपाईंहरुको होइन भनेको हो र ? अरुको होइन भन्या हो र ? मेरो देश । मेरो राष्ट्र । मेरो राष्ट्रिय गाना । मैले मात्रै गाउने हो र राष्ट्रिय गान ? मेरो मात्रै हो र राष्ट्रिय गान ? तर मैले मेरो राष्ट्रिय गाना भन्छु । मेरो राष्ट्रिय गौरव भन्छु । मेरो भन्ने कुराको एउटा वृहत् अर्थमा सामूहिक अर्थमा बुझ्ने अभ्यास गर्नुपर्दछ ।

राष्ट्रपति देशको राष्ट्रको प्रमुख हो । म व्यक्तिको कुरा गरिरहेको छैन । संस्थाको कुरा गरिरहेको छु । राष्ट्रको प्रमुखको हैसियतले जुन सरकार बन्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । राष्ट्रपतिले सरकारको नीति कार्यक्रम आफ्नो संबोधन मार्फत भनिरहँदा गरिमामय संसदलाई मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ, भनेर नीति र कार्यक्रम, त्यो राष्ट्रपतिको, सरकारको नीति र कार्यक्रम राष्ट्रपतिले भन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास हो ।

बौद्धिक जगतले पनि थाहा नपाउनु अचम्म लाग्छ

हाम्रो बौद्धिक जगतले, हाम्रो सञ्चारकर्मी मित्रहरुले, यत्रो वर्षदेखि यहीं छिमेक भारतमा चलेको अभ्यास थाहा नपाउनु अचम्म लाग्छ । बौद्धिक जगतले पनि थाहा नपाउनु अचम्म लाग्छ । भारतमा आफ्नै पार्टीको तर्फबाट । एउटा पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएको छ भने पनि त्यस पार्टीको सरकार हुँदा मात्रै होइन, सरकार त बदलिन्छन् । अर्को पार्टीको सरकार हुँदा पनि संसदलाई संबोधन गर्दा माई गभरमेन्ट भनेर गर्छन् । कमसेकम त्यत्ति त हेर्ने गरौँ ।

राजतन्त्र भारतमा पनि छैन होला । गणतन्त्र नै हो । भारतको राष्ट्रपति पनि कार्यकारी राष्ट्रपति होइन होला । यस भन्दा ठीक अगाडिको मात्रै गोविन्दजी (भारतीय राष्ट्रपति)को संशोधन साथीहरुले यसो युट्यूवमा हेर्नुभयो भने मात्रै पनि स्पष्ट हुन्छ । त्यो भन्दा अघिल्लो हेर्नुस् । अझै अघिल्लो हेर्नुस् । अझै अघिल्लो हेर्नुस् । अझै अघिल्लो हेर्नुस् । धेरै राष्ट्रपति भए भारत । हाम्रोमा त बल्ल दुईवटा राष्ट्रपति हुनु भयो । भारतमा त धेरै राष्ट्रपतिले धेरैवटा संशोधन गर्नुभएको छ, पार्लामेन्टमै ।

भारतले कमसेकम डेमोक्रेसी नै बुझेको छैन, डेमोक्रेटिक अभ्यास बुझेको छैन, त्यहाँ राजतन्त्र छ भन्ने ठान्नु, राजतन्त्रको झल्को लाग्नु ! भारतीयहरुलाई लागेन । भारतीयहरुलाई नलागेको राजतन्त्रको झल्को, भरखर भरखर राजतन्त्र गएकोले झल्को लाग्या हो ।

कतिपय त राजनीतिक पार्टी, लोकतान्त्रिक पार्टीहरु, लोकतान्त्रिक पार्टीका नेताहरु पनि राजतन्त्र, राजतन्त्र भन्दै हिंड्नु भएको छ । जननिवार्चित सरकार, जननिर्वाचित सरकारलाई राष्ट्रपतिले, राष्ट्रको प्रमुखले, जुन राष्ट्रपतिले गरिमामय संसदले, दुबै सदनले पास गरेको कानूनलाई हस्ताक्षर गरेपछि मात्रै कानूनको रुपमा आउँछ । दुईटै संसदले पास गरेपछि, राष्ट्रपतिले हस्ताक्षर नगरेसम्म, लालमोहर भन्छन त्यसलाई्, नलगाउँदासम्म कानून नबन्ने, त्यस्तो पनि हुन्छ ? पार्लामेन्ट भन्दा ठूलो ! राजतन्त्रको झल्को आयो भन्न पनि सकिन्छ । कुनै पनि सिस्टम, त्यसको गरिमा, ती कुराहरु हुन्छन् । त्यो हामीले थाहा पाउनु बाञ्छनीय हुन्छ ।

२१ औं शताब्दीको आजको जमानामा, यति साह्रै सञ्चार सुविधा भएको ठाउँमा, संसारका कुनै पनि पार्लामेन्ट हेर्न हामी उहीं जानु पर्दैन । यहींबाट हेर्न सक्छौँ । लाइभ हेन सक्छैँ । मलाई अचम्म लाग्यो । की राष्ट्रपतिले मेरो सरकार भनेकोमा समेत आजको नेपालमा टिका टिप्पणी हुँदा ।

कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ?

अलिकति त्यो भन्दा फराकिलो, अलि त्यो भन्दा दुनियाँ थाहा पाउनु पर्दछ । थाहा पाएर गरेको हो भने जानकारी भई भईकन पनि । यो एकदम स्वभाविक कुरा हो, कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ?

यो सरकारको नीति कार्यक्रम भन्दा खेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मिहिन प्रकारले भन्ने हैसियत भएर मात्रै पार्लामेन्टमा आउँछ । पार्लामेन्टमा आएर पार्लामेन्टलाई राष्ट्रपतिले संबोधन गर्ने भनेको अपनत्व छ । सेनाको, राष्ट्रपति परमाधिपति हुन्छ । र, सिस्टमको, व्यवस्थाको, प्रणालीको सर्वोप्रमुख हुन्छ । राष्ट्रको सबभन्दा माथिल्लो, सबभन्दा सम्मानित, सबभन्दा मर्यादित पोष्टको हुन्छ । ओहोदाको हुन्छ । र, अभिभावकतुल्य हुन्छ, राष्ट्रपति । संविधानको रक्षासमेतको जिम्मेवारी हुन्छ राष्ट्रपतिको काँधमा ।

त्यसकारण राष्ट्रपतिले मेरो सरकार भन्ने अत्यन्त सामान्य अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जमानामा हामी हुनु भनेको हामीले यात त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ । आफूले स्थापना गरेको प्रणाली, त्यसको गरिमा र राजतन्त्र फालेर लिएको गणतन्त्रमा राष्ट्रपति, राष्ट्रप्रमुख हुन्छ । राजाबाहेक नागरिकबाट । नागरिकबाट निर्वाचित राष्ट्रपतिसँग हाम्रो चित्त नबुझेको हो की । अथवा हाम्रो मानसिकता दरिद्रताबाट ग्रसित छ । यसअर्थ म आग्रह गर्न चाहन्छु, आजको नेपालले यत्तिको कुरा नबुझ्ने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: