कर्णालीको राजधानीमै खानेपानीको सङ्कट « Nagarik Khabar

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट



सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् ।

मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको कारण देखाउँदै यहाँका दुई पिउने पानी उद्योगमा सिलबन्दी गरेपछि यो समस्या झनै चुलिएको छ ।

कार्यालयका खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिमा सिलबन्दी गरेयता जार र बोतलमा आउने पानी बजारमा अभाव हुँदै गएको हो ।

“बजारमा पानी अभाव हुँदै जाँदा बाहिरबाट आउने पानी व्यापारीले महङ्गोमा पानी बिक्री वितरण गर्ने गरेका छन्”, स्थानीयबासी दुर्गा बमले भन्नुभयो, “रु २० मा पाइने बोतलको पानी अहिले रु ३०÷३५ मा किन्नुपरेको छ ।” शुद्ध पानीभन्दा पनि पानीमात्रै जोहो कसरी गर्ने भन्ने चिन्ता वीरेन्द्रनगरवासीमा बढ्न थालेको उहाँको भनाइ छ ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको विकासको तरिका र दिनहुँ बढ्दै गएको खडेरीले वीरेन्द्रनगरमा पानीको हाहाकार बढेको जानकारी दिनुभयो ।

“खडेरीले एकातिर पानीको मूल सुक्दै जाँदा आपूर्तिमा कमी आएको छ भने अर्कोतिर यहाँ बसाइँसराइका लागि आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदै गएकाले झनै खानेपानीको सङ्कट बढेको हो ”, अध्यक्ष देवकोटाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: