सरकारले राष्ट्रपतिलाई कार्यकारी हैसियत दिन खोज्यो : कांग्रेस (भिडियोसहित) « Nagarik Khabar

सरकारले राष्ट्रपतिलाई कार्यकारी हैसियत दिन खोज्यो : कांग्रेस (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको कांग्रेसको दाबी छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने माग राखे । ‘मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत हो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीजीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपतिजस्तो या राजामहाराजाजस्तो पोजिसनमा राख्न खोजिरहेको जुन खालको बजारमा हल्ला भएको थियो, त्यसलाई अझै अगाडि बढाउने ढंगले ल्याइएको छ । योै संशोधन गर्नुपर्छ ।’

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोतबिनाको पुलिन्दाको संज्ञा दिएको छ । उसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशील गराउनेभन्दा पनि राजकीय शक्तिलाई केन्द्रिकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको टिप्पणी गरेको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराउने, स्थानीय सरकारलाई क्रियाशील गराउने सोच नभएको तथा राजकीय शक्तिलाई केन्द्रिकृत गर्ने खालको नीति कार्यक्रम आयो,’ प्रमुख सचेतक खाणले भने, ‘साधन स्रोतविनाको एउटा पुलिन्दा, जसले सपना बाँड्न सक्छ तर यथार्थ रुपमा आमनेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न सक्दैन । नीति र कार्यक्रमको आधारशीला नै कमजोर छ । यसको सोचाइ र दृष्टिकोणहरु नै कमजोर छन् । यसको प्रस्तुतीकरण नै पुराणजस्तो छ ।’

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनी सम्बोधन गरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: