‘हर्ट अट्याक’बाट कसरी बच्ने ? मुटु रोग विशेषज्ञ डा. सिलवालको सुझाव (भिडियो सहित) « Nagarik Khabar

‘हर्ट अट्याक’बाट कसरी बच्ने ? मुटु रोग विशेषज्ञ डा. सिलवालको सुझाव (भिडियो सहित)



 

काठमाडौं । आज विश्वका धेरै मानिस मुटु रोगबाट पिडित छन् । असन्तुलित खानपान, व्यायमको अभाव जस्ता कारण नेपालमा पनि मुटु रोगीको संख्या दिन प्रतिदिन बढिरहेको छ । केहीं वर्षअघिसम्म ३० वर्ष मुनीकालाई हृदयघात हुँदैन भनिथ्यो । तर, आज २४ वर्षकालाई पनि हृदयघात हुन थालेको छ ।
हृदयघात, मुटु रोग के हो ? हृदयघातबाट कसरी बच्ने ? हामीले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालसँग कुराकानी गरेका छौँ । (हेर्नुस भिडियो सहित)

प्रेसर र सुगर नियन्त्रण गर्न नसके हृदयघात हुन सक्छ

हृदयघात भनेको मुटुको मांसपेशी मर्नु हो । मुटुलाई नसाले घेरेर राखेको हुन्छ । त्यसलाई कोरोनरी आट्री भनिन्छ । मुटुको दायाँ र बायाँ दुई पट्टि नै कोरोनरी आट्री हुन्छ । जब कोरोनरी आट्री बन्द हुन्छ, तब मुटुमा रक्त सञ्चार पनि बन्द हुन्छ । रक्त सञ्चार बन्द भएपछि मुटुको मांसपेशी मर्न थाल्छ । यसलाई नै हृदयघात अर्थात् ‘हर्ट अट्याक’ भनिन्छ ।

पहिले ३० वर्ष भन्दा कम उमेरका व्यक्तिलाई हृदयघात हुँदैन भनिन्थ्यो । तर, मैले अहिले २७ वर्षसम्मकालाई पनि हृदयघात भएको देखेको छु । २४ वर्षकै युवालाई पनि हृदयघात भएको देखेको छु ।

खानपान र व्यस्त कार्यतालिकाकै कारण हृदयघात भएको पाइएको छ । हामीले खाने खानेकुरा स्वास्थ्यकर नहुन सक्छ । हामी धेरै चिल्लो भएको खाने कुरा खान्छौँ ।
हृदयघातबाट बच्नका लागि हामीले कम चिल्लो भएको खानेकुरा खानुपर्छ । बासी तेल खानु हुँदैन । मान्छेहरू धेरै व्यस्त हुन्छन् । उनीहरूसँग समय हुँदैन । व्यस्तताले गर्दा हामी बढी मात्रामा बाहिरै खाना खाने गछौं । बाहिरको खाना सबै स्वास्थ्यकर हुन्छ भन्ने छैन । यही अस्वस्थ खानेकुराले गर्दा नै हृदयघातको समस्या बढेको हो ।

तपाईँलाई प्रेसर वा सुगर छ र त्यसलाई नियन्त्रण गर्नुभएको छैन भने तपाईँलाई हृदयघात हुन सक्छ । वा तपाईँको परिवारमा कसैलाई हृदयघातको समस्या छ र तपाईँले त्यसबाट बच्ने उपाय अपनाउनु भएन भने पनि हृदयघात हुन सक्छ । त्यसैले हृदययघातबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।

रोगबाट बच्नका लागि तपाईँले सुगर, प्रेसर जस्ता समस्यालाई नियन्त्रणमा राख्न आवश्यक छ । कोलेस्ट्रोलको समय समयमा जाँच गराउन आवश्यक छ । यदि तपाईँलाई सुगर प्रेसर छैन । घरमा कसैलाई ब्लड प्रेसरको समस्या छैन भने पनि खानेकुरा बार्नु पर्छ । त्यसमा असर गर्ने कुनै पनि चिज धेरै खानु भएन । जस्तो कि रातो मासु धेरै खानु भएन । घिउ अत्यधिक प्रयोग गर्नुभएन । डेरी प्रडक्ट पनि धेरै प्रयोग गर्नु भएन ।

स्वस्थ रहन दैनिक शारीरिक अभ्यास

नियमित शारीरिक अभ्यास गर्नुपर्दछ । बिहान एक घण्टा बेलुका एक घण्टा शारीरिक अभ्यास गर्दा राम्रो हुन्छ । शारीरिक अभ्यास गर्दा तपाईँलाई पसिना आएको हुनुपर्छ । जब पसिना आउँछ, त्यसलाई मात्रै हामी कार्डियाक एक्सरसाइज भन्छौँ । मुटु स्वास्थ्य राख्ने एक्सरसाइज भनेकै पसिना निकाल्ने एक्सरसाइज हो, चाहे तपाईँ खेत बारीमा काम गरेर गर्नुहोस्, भ¥याङमा तलमाथि गरेर गर्नुहोस् या अन्य शारीरिक अभ्यास होस्, त्यसमा पसिना आउन जरुरी छ । यसले हृदयघातबाट बचाउने काम गर्दछ ।

तपाईँ बिहान ४५ मिनेट र बेलुका ४५ मिनेट मात्रै गर्नुहोस्, मुटु बचाउन यो शारीरिक अभ्यास पर्याप्त हुन्छ । तपाईँ दिनमा ६ घण्टा अफिसमा बसेर काम गर्नुहुन्छ भने तपाईँले एक सातामा एक सय ५० देखी तीन सय मिनेटसम्म हिँड्नु पर्‍यो । एक सय ८० देखी तीन सय मिनेटसम्म तपाईँले शारीरिक अभ्यास गरेको हुनुपर्छ ।
शारीरिक अभ्यास गर्दा तपाईँको शरीरको तौल नघट्न सक्छ, तर त्यसले तपाईँको मुटुलाई स्वास्थ्य राख्ने काम भने गर्दछ । तर, कम्तीमा तपाईँले एक सय ८० देखी तीन सय मिनेटसम्म अभ्यास गरेकै हुनुपर्दछ ।

हृदयघात मोटोलाई मात्रै हैन, पातलो शरीर भएकालाई पनि भएको छ । नियमित शारीरिक अभ्यास गर्ने, सुगर र प्रेसरलाई नियन्त्रणमा राख्ने, चिल्लो कम खाने गरियो भने हृदयघातबाट बच्न सकिन्छ । हामीले हृदयघातबाट बच्नका लागि त्यसबाट कसरी बच्न सकिन्छ भनेर सावधानी अपनाउनु पर्दछ ।

मदिरा खान हुन्छ की हुँदैन ?

मादक पदार्थको सेवनले हृदयघातबाट बच्न कुनै पनि मद्दत गर्दैन । उल्टो मादक पदार्थले मान्छेको रक्तचापलाई बढाउँछ । त्यसले पनि अन्य समस्याहरू निम्त्याउन मदिराले भूमिका खेल्छ । त्यसैले हामी मादक पदार्थलाई औषधीको रूपमा प्रयोग गर्न हामी सुझाव दिदैनौं । अहिलेको पछिल्लो अनुसन्धानले मदिराले हामीलाई कुनै पनि प्रकारको फाइदा नगर्ने कुरा पुष्टि गरेको छ । ब्लड प्रेसरको औषधि सेवन गरेकाले मात्र होइन अन्यले समेत मदिरा सेवन गर्नु हुँदैन । मदिराले कुनै पनि प्रकारको फाइदा गर्दैन ।

हृदयघातबाट बच्नका लागि केही महत्त्वपूर्ण काम गर्न आवश्यक छ । जस्तो रातो मासु बढी नखाने, अण्डाको पहेँलो भाग नखाने, साग सब्जी धेरे खाने, नियमित स्वास्थ्य खानेकुरा खाने, पसिना आउने गरी नियमित रूपमा शारीरिक अभ्यास गर्ने, तनाव कम गर्ने र समयमै सुत्ने काम गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: