जुम्लाका दुई स्थानीय तहमा खषभाषा पढाइ हुने « Nagarik Khabar

जुम्लाका दुई स्थानीय तहमा खषभाषा पढाइ हुने



जुम्ला । जुम्लाका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो ।

लोपोन्मुख अवस्थामा रहेको यहाँको खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर पठनपाठनको थालनी गर्ने भएका हुन् । सिञ्जाका अध्यक्ष देवलसिंह रावलका अनुसार सङ्घीयतापछि स्थानीय तह कार्यान्वयनमा आएपछि यहाँका विद्यालयमा खषभाषामा पठनपाठन गर्ने भएको छ । उनले सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको खषभाषा देशभरी फैलिए पनि अहिले लोपोन्मुख अवस्थामा रहेको बताए ।

स्थानीय तहमै खषभाषाको पाठ्यक्रम तयार गरेर पठनपाठन गर्ने योजना अनुसार काम भइरहेको उनले जानकारी दिए । पाठ्यपुस्तक तयार गरी छपाइको काम भइरहेको छ । तातोपानीले एकदेखि कक्षा तीनसम्मको पाठ्यपुस्तक तयार गरी छपाइ कार्य शुरु गरेको छ । पाठ्यपुस्तक छाप्ने काम भइरहेकाले जेठ पहिलो हप्ताबाट विद्यालयमा पुस्तक वितरण गरी पढाइ शुरु गर्ने कार्ययोजना रहेको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताए ।

जुम्लामा रहेका ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली पाठ्यपुस्तकमा समावेश गरिएको उनले बताए। “चार र पाँच कक्षाको पनि पाठ्यपुस्तक तयार हँुदैछ”, उनले भने, “अहिले यो वर्ष एकदेखि तीन कक्षासम्म पढाइ हुने छ ।” कला–संस्कृति, धार्मिक स्थल, भूगोल, इतिहास, धार्मिक सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी गर्न स्थानीय पाठ्यक्रम समावेश गरिएको बताइएको छ । यहाँका २८ सामुदायिक विद्यालयमा स्थानीय खषभाषामा पठनपाठन गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: